भर्खरै

खप्तड आयोजनाको परीक्षण सफल, विद्युत उत्पादन सुरु

  • प्रकाशित मिति : Sat-29-Feb-2076
  • - Admin
title

 अछाम, जेठ ।  अछामको साँफेबगर नगरपालिका १२ , खप्तडमा निर्माण भएको खप्तड लघु जलविद्युत आयोजनाको सफल परीक्षण गरिएको छ । २०७० सालदेखि निर्माण सुरु गरिएको उक्त विद्युत आयोजनाको सम्पूर्ण काम सम्पन्न भएको हो ।  निर्माण उपभोक्त समितिका अध्यक्ष खकेन्द्र कडायतका अनुसार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १ करोड २७ लाख ५० हजार, गरिबी निवारण कोषको २५ लाख, २०७० मा तत्कालिन निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख, तत्कालिन जिल्ला विकास समिति अछामबाट ५ लाख रूपैयाँ विनियोजन भएर निर्माण भएको बताए ।  
आयोजनालाई पूर्णता दिनका लागि खप्तड क्षेत्र पर्यटन विकास समितिबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका वडा नं. १२ बाट ५ लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ को (क) बाट १५ लाख, सुदूर पश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख रुपैयाँ विनियोजन भएको थियो । जम्मा २ करोड ४३ लाख ५ हजार ९ सय २ रूपैयाँ लागतमा लघु जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको कडायतले बताए । 
विद्युत गृह, प्रसारणलाइन, आवश्यक मेसिन उपकरण खरिदलगायत सम्पूर्ण व्यवस्थापन कार्य गरी विद्युत परीक्षण गर्नसमेत सफल भएको समितिका अध्यक्ष कडायतले  बताए । उनका अनुसार अझै रकम अभावका कारण सामग्री खरिदको उधारो तिर्न नसकिएको समेत उल्लेख गरे । आयोजनामा विद्युतका पोल, तार र अन्य उपकरण ढुवानीसहित करिब २५ लाख बराबर स्थानीयले जनश्रमदान गरेको जनाइएको छ । विद्युत आयोजना निर्माण भएसँगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको ब्यारेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय र २ सय ४४ घरधुरीका २ हजार बढी उपभोक्तालाई प्रत्यक्ष लाभ हुने भएको छ । स्थानीय खप्तड खोलाबाट ५० दशमलव ५ किलोवाट विद्युत उत्पादन गर्ने गरी सुरु भएको लघुजलविद्युत आयोजनाबाट ६० किलोवाट उत्पादन भएको उपभोक्ता समितिले जनाएको छ । 

प्रतिक्रिया