भर्खरै

प्रदुषण कम गर्न विद्युतीय सवारी साधनलाई प्रोत्साहन

  • प्रकाशित मिति : Mon-17-Feb-2076
  • - रुपा तुलाधर
title

 काठमाण्डौ, जेठ । वायु प्रदुषण कम गर्न सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने भएको छ ।
 
आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यामा यातायात व्यवस्था अन्र्तगत विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने  अर्थमन्त्री  डा. युवराज खतिवडाले बताएका हुन् । 
 
यातायात क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग गरी शहरी क्षेत्रको वायु प्रदुषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने उनले बताए । काठमाण्डौ उपत्यका र देशका सातै प्रदेशका प्रमुख शहर तथा आसपासका क्षेत्रमा  विद्युतीय बस सञ्चालनमा ल्याउने अर्थमन्त्री खतिवडाले जानकारी दिए । नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्र समेतको सहभागितामा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने भएको हो । विद्युतीय सवारी साधनको प्रयोगलाई देशव्यापी बनाउन नेपाल विद्युत प्राधिकरणबाट पर्याप्त संख्यामा चार्जिङ्ग स्टेशनहरु स्थापना गर्दै लैजाने उनले बताए । 
 
 
त्यस्तै सार्वजनिक यातायातलाई प्रतिस्पर्धी र व्यवस्थित गरिने, यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य पछि सार्वजनिक परिवहन प्रणालीलाई व्यवस्थित गर्न यातायात प्राधिकरण स्थापना गर्ने उनले बताए । यात्रुहरुले सार्वजनिक यातायात शुल्क तिर्न विद्युतीय कार्ड व्यवस्था गर्ने, तोकिएको समयमा यात्रा सुरु गरी तोकिएकै समयमा गन्तव्यमा पुग्न सुनिश्चित गर्ने, ठूला यात्रु क्षमताका सार्वजनिक सवारीसाधन सञ्चालनलाई प्रोत्साहन गर्ने   बताए ।
 
उनका अनुसार जिपिएस प्रविधिको प्रयोग गरी सार्वजनिक सवारी साधनहरुको अनलाईन अनुगमन गरिने, मुलुकका प्रमुख शहरहरुमा सार्वजनिक निजी साझेदारीमा बसपार्क तथा पार्किङ स्थल निर्माण कार्य अघि बढाउने बताए । सातै प्रदेश राजधानीमा सवारीसाधन फिटनेस परीक्षण केन्द्र स्थापना गरी सवारीसाधन अवधिक रुपमा फिटनेश परीक्षण गराउनु पर्ने व्यवस्था  अनिवार्य गर्ने जानकारी गराउदै यातायात व्यवस्थापनमा रु १ अर्ब ५३ करोड विनियोजन गरिएको बताए ।  

प्रतिक्रिया