भर्खरै

सरकारले विद्युतीय सवारीलाई पहिलो प्राथमिकता दिएर ३ सय विद्युतीय बस खरिद गर्दै

  • प्रकाशित मिति : Fri-27-Dec-2075
  • - Admin
title

काठमाडौं, चैत । सरकारले काठमाण्डौं लगायत अन्य ठूला सहरका लागि ३ सय विद्युतीय बस किन्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको बताउँदै ३ सय बस सञ्चालन गर्नेबारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाएको बताएका हुन् । विश्व हरित वृद्धि संस्था’ (जिजिजिआई) सँग सम्झौता गर्न सोमबार बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
नेपालको विद्युतीय यातायात प्रवद्र्धनमा सहयोग गर्न विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र जिजिजिआईका प्रतिनिधिबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । मन्त्री बस्नतेले सोमबारै नेपालमा जिजिजिआईको कार्यालयको उद्धघाटन समेत गरेका थिए । मन्त्री बस्नेतले जिजिजिआइसँगको सहकार्य नेपालको वातावरण क्षेत्रमा केही नयाँ कदमको महत्वपूर्ण थालनी भएको बताए । 
कार्यक्रममा वन सचिव डा विश्वनाथ ओलीले विद्युतीय यातायात र हरित शहरका क्षेत्रमा जिजिजिआइसँगको सहकार्यले हरित अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै मन्त्रालयले प्रदूषण नियन्त्रणका लागि वातावरण ‘वातावरण स्वच्छ महाअभियान’ अघि बढाएको बताए । त्यस्तै जिजिजिआइका महानिर्देशक फ्रान्क रिज्स्वेर्मन, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले कार्बन उत्र्सजन न्यूनिकरण गर्न र स्वच्छ वातावरण निर्माणका लागि विद्युतीय यातायातमा जानुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा जिजिजिआइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, साझा यातायात र महालक्ष्मी नगरपालिका प्रतिनिधिबीच विद्युतीय यातायात र हरित शहर प्रवद्र्धन गर्नेसम्बन्धी सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । 

प्रतिक्रिया