हिजोको हुरीबतासले नेपाल विद्युत प्राधिकरणलाई रु १५ करोड क्षति

  • प्रकाशित मिति : Wed-18-Dec-2075
  • - Admin
title

काठमाडौँ, १८ चैत ।  हिजो साँझ आएको विनाशकारी हावाहुरी र वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणलाई ठुलो क्षति पुगेको छ । 
विशेषगरी बारा र पर्सा जिल्लाका प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा विनाशकारी हावाहुरी र वर्षाले प्राधिकरणलाई रु. १५ करोड बराबरको क्षति भएको हो । 
प्राधिकरणको संरचनामा परेको क्षतिका कारण हाल सम्म विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ । 
 
हुरीबतासका कारण परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या आएको छ । यस्तै वीरगञ्ज–कलैया ३३ केभी प्रसारण लाइनमा समेत क्षति पुगेका कारण विद्युत् आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । 
नेपालमा भारतबाट आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइनको ठूलो टावरमा समेत क्षतिग्रस्त भएको छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या आएको छ । कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत् प्रणालीमा मात्र एक हजार ५०० खम्बा ढलेको प्रवक्ता अधिकारीले बताए ।  
क्षतिग्रस्त भएका प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटाँैडास्थित क्षेत्रीय कार्यालयको टोली तथा बारा र पर्साको टोली आँधी हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । 
 
हेटाँैडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार आज साँझसम्म केही स्थानमा र मङ्गलबार अबेरसम्म सकेसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने तयारीमा प्राधिकरण जुटेको सुवेदीले जानकारी दिए । हावाहुरीले प्राधिकरणका तार चुड्ने,पोलहरु भाचिएका छन् भने ट्रान्सफर्मरसमेत लडेर क्षति पुगेको प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयले जनाएको छ । प्राधिकरणले कलैयास्थित सबस्टेशन आइतबार नै चन्द्रनिगाहपुर सवस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाएको छ । दुवै जिल्लामा गरी दुई हजार बढी खम्बा लडेको प्रमुख सुवेदीले जानकारी दिए । 
विद्युत् प्रणालीमा क्षति पुगे पनि विद्युतीय दुर्घटना हुन नदिन प्राधिकरणले सजगता अपनाएको जानकारी दिँदै प्राधिकरणका प्रवक्ता अधिकारीले दैवीप्रकोपबाट हुन पुगेको प्रणाली सुधार गर्न सबै प्रकारको साधन र स्रोत परिचालन गरिएको बताए । बारा र पर्साका क्षेत्रका बाहेक देशभर विद्युत् प्रणालीमा कुनै पनि समस्या नरहेको प्राधिकरणले स्पष्ट पारेको छ । ।

प्रतिक्रिया