माथिल्लो त्रिशूली ३ बी को पहिलो शेयर प्रधानमन्त्री ओलीलाई, आगामी चैत ५ गते नै शेयर दिने तयारी

  • प्रकाशित मिति : Fri-29-Nov-2075
  • - Admin
title

 
 
काठमाडांै, फागुन । ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी  जलविद्युत आयोजनाको पहिलो शेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइने भएको छ ।  जनताको जलविद्युत कार्यक्रम अन्तर्गत प्रधानमन्त्री ओलीलाई आगामी चैत ५ गते पहिलो शेयर दिने तयारी भएको हो ।
गत  फागुन २ गते  प्रधानमन्त्री ओलीले  जनताको जलविद्युत कार्यक्रमको घोषणा गर्दै ३५औँ दिनमा (७ चैत)मा आफूले कार्यक्रम अन्तर्गत अघि बढ्ने आयोजनाको पहिलो शेयर किन्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्रीले घोषणा गरेभन्दा दुई दिनअगाडि नै शेयर किन्न पाउने भएका हुन् ।   
कार्यक्रम संयोजन समिति सदस्यसचिव हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार ओलीको सो प्रतिवद्धता पूरा गराउन पनि कार्यक्रमको कार्यविधि चाँडो बनाइएको बताए । कार्यक्रमका लागि आवश्यक कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको  उनले बताए । 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 
१२ सदस्यीय कार्यक्रम संयोजन समितिको संयोजक हुन् ।  कार्यक्रम घोषणा भएको भोलिपल्टै (३ फागुनमा) संयोजन समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कानुन हेर्ने सहसचिव तोयानाथ  अधिकारीको संयोजकत्वमा कार्यविधि निर्माण कार्यदल गठन गरेको थियो । समितिमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेल, एचाइडिसिएलका सिइओ छविराज पोखरेल, नेपाल विद्युत प्राधिकरणको कानुन विभागका निर्देशक बेलप्रसाद शर्मा सदस्य रहेका छन् । 
 
त्यस्तै, समितिले माथिल्लो त्रिशूली ३ बी आयोजनाको कार्ययोजना बनाउन ऊर्जा मन्त्रालयको नीति महाशाखाका सहसचिव (प्रवक्ता) प्रवीणराज अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलमा ऊर्जा मन्त्रालयका सहसचिव नवीनराज सिंह र विद्युत उत्पादन कम्पनी लिमिटेडका कार्यकारी निर्देशक मोहनराज पन्त सदस्य छन् । 
कार्यक्रम संयोजन समिति सदस्यसचिव छविराज पोखरेलका अनुसार जनताको जलविद्युत कार्यक्रमको कार्यविधिले ५१ प्रतिशत शेयर सरकारी र ४९ प्रतिशत शेयर सर्वसाधारण रहने व्यवस्था गर्न 
लागेको बताए । सर्वसाधारणले पाउने ४९  प्रतिशतमध्ये स्थानीय प्रभावितलाई १० प्रतिशत र बाँकी देशभरका सर्वसाधारणलाई ३९ प्रतिशत 
शेयर दिनेछ । आयोजना निर्माण सुरु भएपछि आफूले लिन चाहेको शेयरवापतको कुल रकममध्ये सुरुमा १० प्रतिशत भुक्तानी गर्नुपर्नेछ । आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएपछि बाँकी ९० प्रतिशत रकम भुक्तानी गरी शेयर प्रमाणपत्र दिने व्यवस्था गरिएको छ । शेयर प्रमाणपत्र नपाउन्जेलसम्मको अग्रिम भुक्तानीको १० प्रतिशत रकमको ब्याज भुक्तानीसमेत 
सर्वसाधारणले पाउने छन् । 
सर्वसाधारणले प्रतिकित्ता १०० अंकित दरका शेयर कम्तीमा १० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको किन्न पाउनेछन् । जनताको जलविद्युत  कार्यक्रमअन्तर्गत १९ आयोजना अघि बढाउन लागिएको छ । आकर्षक देखिएका यी आयोजनामध्ये ३७ मेगावाटको माथिल्लो त्रिशूली ३बी पहिलो चरणमा अघि बढाउन लागिएको छ । 

प्रतिक्रिया