भर्खरै

नवीकरणीय ऊर्जामा विनाधितो लगानी गर्दै सहकारी

  • प्रकाशित मिति : मंगल, मंसिर २५, २०८१
  • - विद्युत संसार संवाददाता
title

कञ्चनपुर, २५ मङ्सिर । परम्परागत ऊर्जालाई प्रतिस्थापन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले नवीकरणीय ऊर्जामा लगानी गर्न थालेको छ । नवकरणीय ऊर्जा उपयोग गर्ने उपभोक्तालाई सहकारीले सहुलियत दरमा कर्जा उपलब्ध गराउन थालेको हो ।
 
ई–रिक्सा, बायोग्यास, सौर्य ऊर्जा प्रणालीमा आधारित सिँचाइ, सौर्य बत्ती, विद्युतीय चुलोमा ऋण प्रदान गर्ने व्यवस्था मिलाइएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताउनुभयो । उहाँका अनुसार हालसम्म एक सय ५० जनालाई विनाधितो नवीकरणीय ऊर्जाका लागि ऋण प्रदान गरिएको छ । 
 
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरी रु एक लाखसम्म नवीकरणीय ऊर्जामा कर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको कार्यकारी प्रमुख भट्टले जानकारी दिनुभयो । “गत वर्षदेखि नवीकरणीय ऊर्जा कार्यक्रमलाई निरन्तरता दिएका छौँ”, उहाँले भन्नुभयो, “वातावरण प्रदूषण न्यूनीकरणमा यस कार्यले सहयोग पु¥याउछ, वन माथिको निर्भरतामा कमी आउँछ ।” सहकारीबाट ई–रिक्सा खरिदका लागि सहुलियत दरको ऋण लिनेको सङ्ख्या बढी रहेको उहाँले जानकारी दिनुभयो ।
 
नवीकरणीय ऊर्जासपछि सौर्य ऊर्जामा आधारित सिँचाइका लागि ऋण लिने बढी रहेका प्रमुख भट्टले बताउनुभयो । नवीकरणीय ऊर्जाको उपयोगले पु¥याउने लाभबारे सहकारीका सदस्यहरूलाई छलफल तथा विविध कार्यक्रमका माध्यमबाट जानकारी दिने कार्य सहकारी गरिरहेको उहाँको भनाइ छ । योसँगै विभिन्न दातृ निकायसँग सहकार्य गरी जैविक विधिको प्रयोगगरी व्यावसायिक कृषिलाई अगाडि बढाउनका लागि अनुदान र ऋणका कार्यक्रम अगाडि बढाइएको छ ।
 
“कृषकहरूको उत्पादन क्षमता वृद्धि गरी बजारीकरणमा सहयोग पु¥याउने कार्य गरिरहेका छौँ”, सहकारीका सचिव खगेन्द्रप्रसाद पाण्डेयले भन्नुभयो, “किसानको घरदैलोमा आवश्यक वित्तीय सहयोग तथा प्राविधिक सहयोग उपलब्ध, आवश्यक प्रविधि र खेती प्रणालीबारे तालिम दिने कार्य गरिरहेका छौँ ।” सदस्यहरूको माग र आवश्यकताका आधारमा सहकारीले सीपमूलक, उद्यमशीलतामूलक तालिम प्रदान गरी उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । 

प्रतिक्रिया