चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

  • प्रकाशित मिति : बिही, कार्तिक २९, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, २९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो ।
 
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको हामीलाई प्रतिक्रिया दिनुभयो । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले मध्यान्न विद्युत् निर्यात गर्नेछ ।
 
विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको थियो ।
 
सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत् बङ्गलादेश निर्यात गरिनेछ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ । सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बङ्गलादेश पु¥याउनेछ । 
 
सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बङ्गलादेश पुग्नेछ । प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गरिने जनाएको छ । 
 
प्रवक्ता घोषका अनुसार प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेश पठाउनेछ । यसैबीच, बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।
 
सरकारले सन् २०३५ सम्म तय गरेको कार्ययोजनामा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र १५ हजार मेगावाट भारत र बङ्गलादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको छ ।
 
“नेपालको बिजुली बङ्गलादेश निर्यात हुनु आफैँमा महत्वपूर्ण र ऐतिहासिक परिघटना हो”, प्राधिकरणका प्रवक्ता घोषले भन्नुभयो, “लामो समयदेखिको मेहनतको परिणाम हासिल भएको छ ।” 

प्रतिक्रिया