भर्खरै

क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना

  • प्रकाशित मिति : मंगल, असोज २२, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, २२ असोज । नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ । 
 
यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा  खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताउनुभयो । 
 
जल तथा मौसम विज्ञान विभागको अनुमानसँगै सेनाले १४ हजार जनशक्ति विपद् प्रतिकार्यमा खटाउन तयार गरेको थियो । विपद् प्रभावित जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरसँगै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप र पाँचथरमा तत्काल खोज तथा उद्धारमा जुटेको उहाँले जानकारी दिनुभयो । 
 
बिपी राजमार्ग, अरनिको राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलगायत राजमार्ग तथा ग्रामीण सडक, दुई जिल्ला जोड्ने पक्की पुल निर्माण गरी यातायात सञ्चालन गर्न सेनाका प्राविधिकसहितका जनशक्ति खटिएका छन् । 
 
“मुख्य जिम्मेवारीका रुपमा खुर्कोटस्थित सुनकोसी नदीमा ‘बेलीब्रिज’ राख्ने तथा रोशी खोला करिडोरअन्तर्गत बिपी राजमार्गको ठाउँठाउँमा क्षतिग्रस्त सडकको विस्तृत अध्ययनका लागि सेनाका प्राविधिकले सडक विभागको टोलीलाई सहयोग पु¥याएको छ”, सहायक रथी केसीले भन्नुभयो । सेनाकै पहलमा कान्ति राजपथका पहिरो पन्छाएर सोमबार साँझदेखि यातायात सञ्चालनमा आइसकेको छ ।  
 
“पहिलो चरणमा खोज, उद्धार र राहतका काम सम्पन्न भएसँगै प्राथमिकता निर्धारण गरी पुनःनिर्माण र पुनःस्थापनामा सङ्गठनले जनशक्ति खटाइरहेको छ”, प्रवक्ता केसीले भन्नुभयो । 
 
सेनाभित्र विपद् व्यवस्थापनका लागि सहायक रथीको नेतृत्वमा विपद् व्यवस्थापन निर्देशनालय र मातहत काठमाडौँको सुन्दरीजल र चितवनमा गरी दुई वटा गण क्रियाशील छन् । 
 
यसवर्षको बाढीपहिरोबाट भएको क्षति र प्रतिकार्यमा देखिएका कमिकमजोरीबाट पाठ सिक्दै विपद् पूर्वतयारी र प्रतिकार्यलाई थप प्रभावकारी तुल्याउन नयाँ रणनीति आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया