बाढी पहिरोबाट खानेपानीमा पुर्याएको क्षतिको मिलेर प्रतिकार्य गरौंः महानिर्देशक श्रेष्ठ
- प्रकाशित मिति : मंगल, असोज १५, २०८१
- - विद्युत संसार
काठमाडौ, १५ असोज । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई।राम कुमार श्रेष्ठले बाढी पहिरोबाट खानेपानीमा पुर्याएको क्षतिको मिलेर प्रतिकार्य गर्नुपर्ने बताउनुभएको छ ।
Towards Arsenic Safe Drinking Water in Nepal -NeAs Project को फाइनल सेमिनारमा महानिर्देशक श्रेष्ठले असोज १२ गते शनिबारको बाढी र पहिरोले खानेपानी र सरसफाइमा पुर्याएको क्षतिको मिलेर प्रतिकार्य गर्न विकास साझेदार संस्थालाई अनुरोध गर्नुभएको हो ।
बाढी र पहिरोले खानेपानी र सरसफाइ योजनाहरुमा पुर्याएको क्षतिको विवरण संकलन भैरहेको र देशैभरिका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरुबाट क्षतिको विवरण संकलन भएपछि सार्वजनिक गरिने उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागको गुणस्तर तथा सेवा नियमन शाखाका प्रमुख एवं परियोजना संयोजक सिडिई पूर्ण प्रसाद उपाध्यायले परासी जिल्लाको ७ वटा पालिकाका ९४ वटा डिप ट्युवेल, २९ वटा स्यालो ट्युवेल र ९ वटा सतहको स्रोतको पानीमा देखिएको आर्सेनिकको परिणाम सार्वजनिक गर्नुभयो ।
Towards Arsenic Safe Drinking Water in Nepal -NeAs Project फिनल्याण्ड सरकारको सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको पाइलट प्रोजेक्ट हो । यो परियोजना सन् २०२० देखि परासी जिल्लाको सात वटा पालिकामा सञ्चालित छ ।
यस्ता परियोजना सरकार र सरकारबीचको साझेदारीमा सञ्चालन हुने र सानो प्रकृतिको परियोजना भए पनि गुणात्मक महत्व राख्ने फिनल्याण्ड दुतावासका पल्लव राज नेपालले बताउनुभयो ।
कार्यक्रममा खानेपानी र सरसफाइ विज्ञ, खानेपानी गुणस्तर क्षेत्रका परामर्शदाता, जिओलोजिष्ट, हाईड्रोजिष्ट, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक राम चन्द्र काफ्ले, बिभाग अन्तर्गतका विभिन्न खानेपानी तथा आयोजना कार्यालयका आयोजना निर्देशकहरु, खानेपानी र सरसफाइ क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
सहभागीहरुले दिएको सुझावलाई समेटेर प्रतिवेदन तयार पारिने परियोजना संयोजक एवं खानेपानी तथा ढल व्यवस्थापन विभागको गुणस्तर तथा सेवा नियमन शाखाका प्रमुख उपाध्यायले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो । वास खबरको सहयोगमा