नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा

  • प्रकाशित मिति : आइत, असोज १३, २०८१
  • - विद्युत संसार संवाददाता
title

त्रिवेणी (नवलपरासी), १३ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । 
 
प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान भएको उहाँले बताउनुभयो । जिल्लाको गैँडाकोट नगरपालिका–२ बोटे टोलमा ८० घर डुबानमा परेका छन् । बस्ती डुबानमा परेपछि यहाँका बासिन्दालाई उद्धार गरी  महेन्द्र स्मारक आधारभूत विद्यालय र श्रीराम पार्टी प्यालेसमा राखिएको छ । 
 
गैँडाकोट–७ सिकारी टोलका १५ घर, वडा नं ९ को थुम्सीका १८ घर र वडा नं १० थापा गाउँका १५ घर डुबानमा परेका छन् । डुबानमा परेका घरका बासिन्दा आफन्तकहाँ आश्रय लिएर बसेका प्रजिअ पोख्रेलले बताउनुभयो । नवलपुरको कावासोती नगरपालिका–१५ बाघखोरका ६० घर र कावासोती–१७ गोछडाटारका दुई सय १५ घर समेत डुबानमा परेका छन् । 
 
यसैगरी मध्यविन्दु नगरपालिका–२ सीतापुर र सेरीका दुई सय घर डुबानमा परेका छन् । मध्यविन्दु–६ भडराका दुई सय घर र वडा नं १५ का १८ घर डुबानमा परेका छन् । डुबानबाट एक हजार नौ सय ३७ जना प्रभावित भएको प्रजिअ पोख्रेलले बताउनुभयो । नारायणी नदीको बाढीका कारण यी क्षेत्र डुबानमा परेका हुन् । डुबानमा परेका क्षेत्रमा उद्धारका लागि तीन सय दुई नेपाल प्रहरी, एक सय ४५ सशस्त्र प्रहरी र ८२ नेपाली सेना खटिएका थिए । 
 
बाढीका कारण कृषि बालीमा समेत ठूलो क्षति पुगेको छ । बाढीले नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा सात सय हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुर्याएको छ । जिल्लाका विभिन्न स्थानमा गरेर करिब सात सय हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । 
 
बाढीबाट गैँडाकोट,  कावासोती, मध्यविन्दु, विनयी त्रिवेणीका विभिन्न क्षेत्रमा धानबालीमा क्षति पुर्याएको छ । नारायणी नदी तटीय क्षेत्रका बस्ती सेहरी, नन्दपुर, सीतापुर, भुताह, बगुवन, प्रसौनीलगायत क्षेत्रमा बाढीबाट बढी क्षति पुगेको छ । वर्षासँगै आएको बाढीले खेत पूरै डुबान भएकाले यी क्षेत्रमा धानबाली पूर्ण रूपमा नोक्सान हुने अवस्था रहेको प्रमुख तिवारीले बताउनुभयो । बाढीले जिल्लाका माछापोखरीमा समेत ठूलो क्षति पुगेको छ । 

प्रतिक्रिया