भर्खरै

एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग

  • प्रकाशित मिति : बिही, भदौ २०, २०८१
  • - बोमलाल गिरी/गोरखापत्र
title
काठमाडौँ, नवलपुर, भदौ २० गते । गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका ६१ जनामा क्यान्सर र १५ जनामा मिर्गौला फेल भएको कारण खोज्न सरकारले कार्यदल गठन गरेको छ । ती सबै २०६५/६६ देखि आधुनिक तरकारी खेती गरिरहेका किसान रहेका कारण तरकारी खेतीमा हालिएको विषादीका कारण त्यस्तो रोग लागेको प्रारम्भिक अनुमान छ ।
 
खेतीमा प्रयोग हुने अधिक विषादी नै त्यसको कारण रहेको दाबी गरिएपछि कृषिमन्त्री रामनाथ अधिकारीले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको हो । अहिले कार्यदलले गण्डकी गाउँपालिकामा अध्ययन गरी प्रतिवेदन तयार गर्दै छ । उक्त घटनालाई नै पुष्टि गर्ने आधार देखाउने गरी गण्डकी प्रदेशकै नवलपुरको हुप्सेकोटमा त्यस्तै खेती गर्नेमा क्यान्सरका रोगी अधिक फेला परेका छन् । हुप्सेकोट गाउँपालिकामा मात्र व्यावसायिक तरकारी खेती गर्ने ६४ जनामा क्यान्सर र मिर्गौला रोग लागेको स्वास्थ्य शाखा हुप्सेकोटले जनाएको छ । तीमध्ये १४ जना एउटै वडा (वडा नं. १ को जुगेपानी क्षेत्र) का रहेका हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । यसअघि गत वर्ष डडेलधुराको अमरगढी नगरपालिकामा पनि एकै गाउँका सात जनामा क्यान्सर लागेको र एक जनाको मृत्यु हुँदा त्यस्तै खोजी भएको थियो तर त्यसको गम्भीर अध्ययन भएन । 
 
हुप्सेकोटको कहाली 
 
हुप्सेकोटमा विभिन्न उमेर समूहका र कार्यप्रकृतिका कृषक विषादीको जोखिममा काम गर्छन् । तीमध्ये जुगेपानीका दिनेश सोमै मगरलाई २६ वर्षमै दुई थरी क्यान्सर भइसकेको छ । उहाँ तीन वर्षभन्दा बढी वैदेशिक रोजगारी रहेर स्वदेश फर्केपछि तरकारी खेतीमा लाग्नुभएको हो तर तरकारी खेती थालेको डेढ वर्षमै मलद्वारको र पछि ढाडको हड्डीमा क्यान्सर भयो । उहाँ आफैँ त्यसको कारण तरकारी खेतीको विषादी नै मान्नुहुन्छ । विषादी प्रयोग गर्न नजानेरै क्यान्सर भएको अनुमान गर्दै त्यसको आधार धेरै जना त्यस्ता किसानलाई क्यान्सर र मिर्गौलाको रोग लागेको उहाँले बताउनुभयो । 
 
उहाँको आशङ्कालाई बल दिने गरी छिमेकी ६५ वर्षीय हरिमाया थापा र ६४ वर्षीय ताराबहादुर विक दुवै क्यान्सर पीडित हुनुहुन्छ । विक १५ वर्षदेखि विषादीको प्रयोग गर्दै तरकारी खेतीमा लाग्नुभएको हो । उहाँलाई तीन वर्षअघि पिसाब नलीमा क्यान्सर देखियो । 
 
विकले पनि सोमेले जस्तै अर्का किसान प्रेमबहादुर रजाली पनि क्यान्सर लागेरै चार वर्षअघि बितेको स्मरण गर्नुभयो । ६६ वर्षीय टेकबहादुर विकले चाहिँ मिर्गौलामा क्यान्सर भएपछि एउटा मिर्गौला फालेर जीवन धान्दै हुनुहुन्छ ।  तरकारीमा प्रयोग गर्ने विषादीकै कारण यति ठुलो सङ्ख्यामा किसानलाई मिर्गौला र क्यान्सर रोग लागेको हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो । किसानले प्रयोग गरेका विषादी, प्रयोग गर्ने विधि, प्रयोग गर्दा अपनाइएको असावधानी र एउटै क्षेत्रका व्यावसायिक किसानलाई मात्र यो रोग लाग्नुले विषादीकै कारण क्यान्सर र मिर्गौलाको रोग लागेको निष्कर्षमा आफूहरू पुगेको उहाँको विचार छ । 
 
हुप्सेकोट गाउँपालिकाले त्यसबारे सावधानी गराएको जनाएको छ । पालिकाका उपाध्यक्ष पूर्णसिंह रानामगरले कृषकसँग छलफल गरेर गत वर्षदेखि नै विषादी कम गर्न भनेको तर कार्यान्वयनमा अझै समस्या देखिएको बताउनुभयो । 
 
हुप्सेकोट–१, जुगेपानी काँक्राको पकेट क्षेत्र हो । सयौँ कृषकले ९० बिघाभन्दा बढी क्षेत्रफलमा काँक्रा खेती गर्छन् । दैनिक ६० देखि ७० टन काँक्रा काठमाडौँ, नारायणगढ, पोखरा, बुटबललगायतका सहरमा निर्यात हुने गर्छ । बढी उत्पादन गर्न कृषक रासायनिक मल र विषादीको व्यापक र असुरक्षित प्रयोग गर्छन् ।
 
गण्डकी गाउँपालिका, अमरगढी र हुप्सेकोट नगरपालिकाका यी घटनाले हाम्रो कृषि प्रणाली, विषादीको अन्धाधुन्ध प्रयोग र समग्रमा कृषि स्वास्थ्य चेतनामा समस्या देखाएको छ । विज्ञहरूका अनुसार कृषकले तरकारीमा प्रयोग गर्ने केही विषादी क्यान्सरलाई सक्रिय गर्ने तत्व (एजेन्ट) का रूपमा रहेका छन्  । कृषि शाखा कार्यालय हुप्सेकोटका अनुसार स्थानीयले तरकारीमा इमिडाक्लोरप्रिक, रक्लोरपाइरिफस, इमामेविटन, बेन्जोएट, साइपरमेसिन, रक्लोरपाइरिफस जस्ता कीटनाशक र ढुसीनाशक विषादीमा मेन्कोजेव, कार्बेन्डाजिम, मेटलाक्सिल, डाइपयोमोर्फलगायत प्रयोग गरेका छन् । यी विषादी क्यान्सर र मिर्गौलामा असर गर्ने नै भएको कृषि विभागका पूर्वमहानिर्देशक एवं विषादीविज्ञ डा. डिल्लीराम शर्माले बताउनुभयो । “इमिडाक्लोरप्रिक, रक्लोरपाइरिफसले क्यान्सरको उच्च जोखिम निम्त्याउँछ भने ढुसीनाशक विषादीले मिर्गौला ड्यामेज गर्छ,” डा. शर्माले भन्नुभयो । 
 
विषादीविज्ञसमेत रहनुभएका केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवन, ललितपुरका प्रमुख महेशचन्द्र आचार्यका अनुसार यी विषादीमा कासिनोजिन अर्थात् ‘क्यान्सर कजिङ एजेन्ट’ हुन्छ । यीबाट क्यान्सर, मिर्गौला रोगलगायत विभिन्न स्वास्थ्य समस्या हुन्छ भनेर प्रमाणित गरेको पनि उहाँले बताउनुभयो । उहाँले अझ सचेत गराउँदै भन्नुभयो, “विषादीका कारण आजको भोलि नै समस्या नदेखिने भए पनि केही वर्षपछि समस्या हुन्छ ।” 
गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago