भर्खरै

पूर्वीनाकाबाट ई–रिक्सा आयातमा वृद्धि

  • प्रकाशित मिति : शुक्र, भदौ ७, २०८१
  • - विद्युत संसार संवाददाता
title

झापा, ७ भदौ । पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई–रिक्सा)को आयात वर्षेनी बढिरहदा  परम्परागत पाइडल रिक्सा लोप भएका छन् । पाँच वर्षमा रु। ८९ करोड ४३ लाख ३६ हजार १६१ मूल्य बराबरको १० हजार १६४ वटा ई–रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताउनुभयो ।
 
उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु। ४१ करोड २० लाख ३९ हजार ९५९ मूल्य बराबरको चार हजार ६४५  ई–रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ । यसअघिको आव २०७९/८० को तुलनामा उक्त आयात दोब्बरभन्दा बढी हो । आव २०७९/८० मा रु। १६ करोड ७१ लाख १९ हजार दुईसय १३ मूल्य बराबरको एक हजार ८५९ ई–रिक्सा आयात भएको थियो । ई–रिक्साको आयात महसुल वापत मेची भन्सार कार्यालयले बिगत पाँच वर्षमा रु। ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको भन्सारले जनाएको छ ।
 
आव २०७६/७७ मा यही नाकाबाट रु। आठ करोड ८१ लाख ५१ हजार ८४० मूल्य बराबरको एक हजार ३२ वटा ई–रिक्सा आयात भएको थियो भने आव २०७७/७८ मा रु। आठ करोड ७२ लाख सात हजार ९९९ मूल्य बराबरको एक हजार ११५  आयात भएको थियो । तथ्यांकले ई–रिक्साको आयात वर्षेनी निरन्तर बढेको देखाउँछ । आव २०७८/७९ मा रु। १३ करोड ९८ लाख १७ हजार १५० मूल्य बराबरको एक हजार ५१३ वटा ई–रिक्सा काँकडभिट्टास्थित भन्सार भएर आयात भएको थियो ।
विगत पाँच वर्षयता झापाको सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुर्याउँदै आएको छ । विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन् । विद्युतीय रिक्सा व्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै रिचार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधाजनक तुल्याएको छ ।
 
 बिगतमा परम्परागत रिक्सा चलाउनेहरुले अहिले ई–रिक्सा खरिद गरेर गुजारा चलाउन थालिसकेका छन् । यसैबीच, पूर्वीनाका काँकडभिट्टा हुँदै बिगत पाँच वर्षमा रु। दुई करोड ४० लाख १३ हजार २४७ मूल्य बराबरको १४५ वटा तीन पांग्रे स्कुटर भन्सार महसुल छुटमा आयात भएको छ ।
 
मेची भन्सार कार्यालयबाट प्राप्त तथ्यांक अनुसार फरक क्षमता भएका शारीरिक अशक्त व्यक्तिहरुले प्रयोग गर्ने तीन पांग्रे स्कुटर भन्सार छुटमा आयात गर्दा प्रज्ञापन पत्र वापत रु। पाँच सय र मूल्य अभिवृद्धि करवापत रु। ६५ मात्र महसुल बुझाउनु पर्दछ ।

प्रतिक्रिया