मानसिक हिसाबले गरिब हुन नेपालीहरुलाई छुट छैन ःऊर्जा मन्त्रि खड्का

  • प्रकाशित मिति : शनि, भदौ १, २०८१
  • - भीमलाल श्रेष्ठ / विद्युत संसार संवाददाता
title

काठमाडौँ, १ भदौ ।ऊर्जा,जलस्रोततथा सिंचाई मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाली जनताहरुलाई मानसिक हिसाबले गरिब हुन नेपालीहरुलाई छुट नभएको बताउनुभयो । ऊर्जा मन्त्री  खड्काले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् खपत गरी तिर्नुपर्ने बक्यौता उठाउन एकैचोटि बत्तीको लाइन काट्नु व्यक्तिको घाँटी काट्नु सरह भएको बताउनु भयो।
 
पैसा तिर्नु पर्दैैन भनेर आफूले कहिल्यै नभनेको बताउँदै ऊर्जा मन्त्री खड्काले भने, ‘कहीं कसैले बदमासी गर्या छ, दण्ड हुन्छ सजायँ हुन्छ जरिवाना हुन्छ तर दण्ड, सजायँ जरिवाना घाँटी काटेर हुँदैन ।
’‘तिर्नु हुँदैन, लुटेर खानुपर्छ भन्ने मान्यता सरकारले राख्ला  यस्तो दुष्प्रचार गर्नु हुन्छ रु’ मन्त्री खड्काको आक्रोश थियो, ‘हामी स्रोत साधन हुँदाहुँदै पनि आर्थिक हिसाबले गरिब हौला, तर मानसिक हिसाबले पनि गरिब हुनेप्रति मलाई दुःख लागेको छ । मानसिक हिसाबले गरिब हुन नेपालीहरुलाई छुट छैन । यतातिर लाग्नु हुँदैन । यस्ता दुष्प्रचारमा हामी अल्मलिनु हुँदैन ।’ 
 
 उज्यालो नेपालको सम्वाहकका रुपमा स्थापित नेपाल विद्युत् प्राधिकरणको संचालक समितिको अध्यक्षको तर्फबाट २८ सय ज्यालादारी कर्मचारीहरुलाई दशै भत्ता उपलब्ध गराउने, कर्मचारीको घरभाडाबापत मासिक रु दुइहजार उपलब्ध गराउने,पर्यटन बापत खर्चदिने घोषणा गर्नुभएको थियो भने यातायात भाडा बापत खर्च भने दिन नसक्ने बताउनु भएको थियो ।  
आज यहाँ आयोजित वार्षिकोत्सव समारोहमा ऊर्जा क्षेत्रको थप विकासका लागि साझा सहकार्यको आवश्यकता औँल्याउँदै नीति तथा कार्यक्रमलाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत ऊर्जामन्त्री खड्काले प्रसारण लाइनको अभावमा रसुवागढी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या भएको तथा मध्यभोटेकोशीको अवस्था पनि उस्तै रहेको बताउँदै तत्काल प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने आवश्यता रहेकामा जोड दिनुभयो । 
 
 
  विद्युत् खपत बढाउन आवश्यक पूर्वाधार जरुरी रहेको भन्दै मन्त्री खड्काले त्यसका लागि आवश्यक काम गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो । उत्पादन, प्रसारण र वितरणका बीचमा आवश्यक तालमेल गरेर अगाडि बढेमा उल्लेख्य सफलता हासिल हुने उहाँले बताउनुभयो । 
 
ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत् खपत वृद्धिका लागि देशव्यापी रुपमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताउनुभयो । ऊर्जा क्षेत्रको विकासमा बाधकका रुपमा रहेको वन क्षेत्रको जग्गा प्रयोग, जग्गा प्राप्तिलगायत समस्या समाधान गर्न मन्त्रालयले आवश्यक पहल गर्ने उहाँले विश्वास दिलाउनुभयो । 
 
राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले प्राधिकरणले देश र नागरिकको पक्षमा गरेको काम र जिम्मेवारीप्रति धन्यवाद दिनुभयो । उहाँले विद्युत् उत्पादन बढाउने लक्ष्यलाई प्राप्त गर्न योजनाबद्ध रुपमा कार्यसम्पदान र कार्यान्वयन गर्ने महत्वपूर्ण निकायका रुपमा रहेको प्राधिकरणको हितका पक्षमा आयोगले काम गर्ने बताउनुभयो ।
 
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले विद्युत् प्रणालीको दिगो व्यवस्थापनका लागि सरकारले आवश्यक कार्ययोजनाका साथ काम गरिरहेको जानकारी दिनुभयो । उहाँले संसद्मा विचाराधीन विद्युत् विधेयक पारित भएपछि प्राधिकरणको कार्यक्षेत्र थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
 
विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले विद्युत् खपत गराउने योजनालाई स्पष्ट कार्ययोजनाका साथ कार्यान्वयन गर्नुपर्ने भएकाले आवश्यक सहजीकरणका लागि आयोग तयार रहेको बताउनुभयो ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्को उत्पादन, प्रसारण र वितरण संरचना निर्माण गरी आमउपभोक्तालाई नियमित, भरपर्दो र सर्वसुलभ रूपमा विद्युत् सेवा प्रदान गर्न प्राधिकरण क्रियाशील रहेको बताउनुभयो । उहाँले प्राधिकरणले पछिल्ला सात वर्षदेखि गर्दै आएको कार्यप्रगतिलाई गत वर्ष पनि निरन्तरता दिँदै विद्युत्को उत्पादन क्षमतामा वृद्धि गरिएको, प्रसारण तथा वितरण प्रणालीको विस्तार गरी आन्तरिक खपतमा वृद्धि गरिएको उल्लेख गर्नुभयो । 
 
विद्युत् निर्यात वित्तीय अवस्थामा सुधार र विद्युत् चुहावट नियन्त्रणमा ऐतिहासिक उपलब्धि हासिल गर्न प्राधिकरण सफल भएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । हरेक वर्ष वृद्धि हुँदै आएको नाफाबाट उक्त अवधिभित्र प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणका विभिन्न आयोजनामा रु एक खर्बभन्दा बढी लगानी गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । 
 
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले आफ्ना सहायक तथा सम्बद्ध कम्पनीमा थप रु ५६ अर्बभन्दा बढी लगानी गरेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार प्राधिकरणको कूल सम्पत्ति गुणात्मक रूपले वृद्धि भई रु दुई खर्ब ११ अर्बबाट बढेर रु छ खर्ब ३२ अर्ब पुगेको छ ।
 
उपभोक्ता सङ्ख्या ५४ लाख ६० हजार पुगेको छ । सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत् सेवा उपभोग गरिरहेका चार लाख ७५ हजार ग्राहक राष्ट्रिय ग्रिडबाट विद्युत् सेवा उपभोग गर्ने ग्राहकको सङ्ख्या  ५९ लाख ३५ हजार पुगेको छ । मुलुकभरका करिब ९९ प्रतिशत नागरिकमा विद्युत् सेवा पुगेको उहाँले जानकारी दिनुभयो ।
 
प्राधिकरणको आधिकारिक टे«ड युनियनका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरणले नाफा कमाउँदा पनि बाँकी बक्यौता बढी रहेकाले तत्काल असुल उपर गर्न माग गर्नुभयो । प्राधिकरणले सरकारलाई तिर्नुपर्ने ऋण रकममा स्थानीय तहले तिर्नुपर्ने बक्यौता रकम मिलान गरिदिए धेरै राहत हुने उहाँले उल्लेख गर्नुभयो ।
 
अध्यक्ष भट्टराईले डेडिकेटेड र ट्रक लाइन महसुलमा प्राधिकरणले उठाउनुपर्ने सबै रकम उठाउनुपर्ने माग गर्नुभयो । प्राधिकरणले गत आवमा रु १३ अर्ब नाफा गरेको र कूल सञ्चित नाफा रु ४७ अर्ब बराबर पुगेकाले कर्मचारीलाई ‘बोनस’ उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । 
 
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कील उद्योगी तथा व्यवसायीले प्रयोग गरेको बिजुलीबापतको रकम तिर्नुपर्ने बताउनुभयो । उहाँले प्राधिकरण सबल भए मात्रै ऊर्जा उत्पादकहरु पनि सक्षम हुने उल्लेख गर्नुभयो । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्राधिकरणका कार्यालय र आयोजनालाई सम्मान गरिएको थियो ।
 
 नेविप्रा को युुट्यब लिंक र विद्युत संसार डटकमले लाईभगरेको लिक समेत समावेश गरिएको छ ।
https://www.facebook.com/share/v/bXF4WzuvgSekfg8h/?mibextid=oFDknk
https://www.youtube.com/watch?v=9cpmV9uS9vE

भिडियो हेर्नुहोस्

प्रतिक्रिया