भर्खरै

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट

  • प्रकाशित मिति : बुध, साउन १६, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
 
उद्योग मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहयोगले नेपाल–चीनबीचको सम्बन्धको आयामलाई थप विस्तार गरेको अनुभूति गरेको छु, नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध छ र चीन विरोधी कुनै पनि कसिमका गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने सङ्कल्पमा नेपाल सरकार दृढ रहेको स्पष्ट पार्न चाहन्छु ।”
 
नेपाल चीनको शान्ति, स्थायित्व एवं विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउँदै मन्त्री भण्डारीले पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भएको बताउनुभयो । 
 
“यस्ता उच्चस्तरीय भ्रमणहरुका क्रममा व्यापार, ‘कनेक्टिभिटी’ र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ पार्ने उद्देश्यले धेरै सहमति तथा समझदारीहरु भएका छन्, यस्ता किसिमका भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रहरु थप विस्तारित र समृद्ध हुनेमा म विश्वस्त छु”, मन्त्री भण्डारीले भन्नुभयो ।
 
नेपालको सामाजिक तथा आर्थिक विकासका लागि चीन महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापारको क्षेत्रमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो भने प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा पहिलो लगानीकर्ता मुलुक हो, नेपालको भौतिक तथा व्यापार ‘लजिस्टिक्स’ पूर्वाधार, अन्तर–आबद्धता, ऊर्जा, व्यापार, कृषि तथा औद्योगिक विकासका क्षेत्रमा चीनले खलेको महत्वपूर्ण भूमिकाको सरहाना गर्न चाहन्छु ।”
 
मन्त्री भण्डारीले द्विपक्षीय नाकाहरु पुनः सञ्चालनमा आएपछि दुई देशीय व्यापारको मात्रा उल्लेख्य रूपमा बढेको उल्लेख गर्नुभयो । दोस्रो ठूलो व्यापार साझेदार भए पनि आयात र निर्यातबीच ठूलो खाडल देखिएको उहाँको भनाइ छ । 
 
“हामी हाम्रो व्यापार पूर्वाधार विकास गर्न, यातायात सञ्जालको स्तरवृद्धि गर्न, भन्सार सुविधाहरूमा सुधार गर्न र हाम्रो ‘लजिस्टिक्स’ प्रणालीलाई आधुनिकीकरण गर्न इच्छुक छौँ, यी क्षेत्रमा चीनको विशेषज्ञता र लगानीको लाभमार्फत हाम्रो औद्योगिक विकास र दुई देशीय व्यापारलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ छ”, उहाँले भन्नुभयो ।
 
चिनियाँ सरकारको सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह तोकिएको मितिमा सम्पन्न हुनेमा मन्त्री भण्डारीले विश्वास व्यक्त गर्दै मुस्ताङको कोरालामा पूर्वाधार विकास गर्ने विषयमा नेपाल र चीन सरकारबीच सैद्धान्तिक रुपमा सहमति भइसकेकाले छिट्टै कार्यान्वयनमा जाने उल्लेख गर्नुभयो ।
 
चीन सरकारको अनुदान सहयोगमा दैलेखमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनामार्फत पेट्रोलियम अन्वेषण कार्य द्रुत गतिमा अगाडि बढिरहेको मन्त्री भण्डारीले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो, नेपालले यस क्षेत्रमा कानुन संशोधन र परिमार्जन गरी लगानीको वातावारण बनाएको छ, यसबाट नेपालमा थप चिनियाँ लगानी आकर्षित हुनेमा विश्वस्त छु ।”
 
मन्त्री भण्डारीले चीनमा नेपाली उत्पादनको बजार पहुँच विस्तार गर्न र चीनको बजारमा नेपाली वस्तुहरूको प्रवद्र्धन गर्न चीन सरकारसँग सहकार्य गर्न निकै उत्साही रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस सम्बन्धमा व्यापार मेला, व्यापार प्रतिनिधिमण्डल र द्विपक्षीय सम्झौता जस्ता पहलहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।”
 
भेटका क्रममा चिनियाँ राजदूत सोङले चीन–नेपाल आपसी सम्बन्ध विस्तार गरी सौहाद्र्र वातावरण सिर्जना गर्न समर्पित रहेको बताउनुभयो । व्यापार र विकास निर्माणमा साझेदारी तथा नेपालको आर्थिक विकास र समृद्धिको साझेदारका रुपमा चीनले काम गरिरहेको बताउनुभयो । 
 
राजदूतका रुपमा आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै अन्य मन्त्रालयसँगसमेत अन्तरक्रिया गरी सहकार्यको वातावरण बनाउँदै गएको सोङको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago