भर्खरै

खानेपानी विभागको महानिर्देशकमा ई.राम कुमार श्रेष्ठ नियुक्त

  • प्रकाशित मिति : मंगल, साउन ८, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौ, ८ साउन । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा ई.रामकुमार नियुक्त हुनुभएको छ । विभागको उपमहानिर्देशक रहनुभएका ई. श्रेष्ठ सोमबार देखि खानेपानीमन्त्री प्रदीप यादवको निर्णयमा विभागको महानिर्देशकमा नियुक्त हुनुभएको हो ।
 
२०२९ सालमा स्थापना भएको खानेपानी तथा ढल व्यवस्थापन विभागमा श्रेष्ठ २८ औं महानिर्देशक हुनुहुन्छ।
 
खानेपानी तथा ढल व्यवस्थापन विभागको ५२ बर्षको इतिहासमा ई.राम कुमार श्रेष्ठ सबैभन्दा कम उमेरमा महानिर्देशक बन्ने व्यक्ति हुनुहुन्छ । २०३८ सालमा गोरखामा जन्मिनु भएका श्रेष्ठ निजामति सेवामा प्रवेश गरेको १२ बर्षमै उच्च ओहोदामा पुग्न सफल हुनु भएको हो।
 
२०६८ सालमा इन्जिनियर पदबाट निजामति सेवा आरम्भ गर्नुभएका श्रेष्ठ २०७२ सालमा सिनियर डिभिज्नल इन्जिनियर (उपसचिव) मा पदोन्नति हुनु भएको थियो। उपसचिव भएको ५ बर्षमै सहसचिव बन्न सफल श्रेष्ठ त्यसपछि मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक हुनु भएको थियो। निजामति सेवाका उल्लेखित सबै तहमा उहाँ खुला प्रतिस्पर्धाबाट छनौट हुनु भएको हो ।
 
 
सिभिल ईन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठसँग खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यबस्थापन विभाग, विभिन्न जिल्लाहरुमा कार्यालय प्रमुखको रुपमा कुशलता पूर्वक कार्य सम्पादन गरेकोे अनुभव छ । खानेपानी मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा उहाँको महत्वपूर्ण योगदान रहेको छ।
 
उहाँले गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । उहाँकै अगुवाईमा गण्डकी प्रदेशले खानेपानी तथा सरसफाइ ऐन जारी गरेको हो । प्रदेशमा रहँदा नीति नियम निर्माण देखि मन्त्रालयको हाल सम्मकै बढ़ी प्रगति हासिल गर्न सफल हुनुभएको थियो।
 
 
उहाँले लोकसेवा आयोग तयारी लगायतको पुस्तक समेत प्रकाशन गर्नु भएको छ। आम नागरिकको समस्या सामाधान गर्न सक्दो समन्वय र सहयोग गर्ने हाकिमको परिचय बनाउनुभएका श्रेष्ठ आफ्नो कार्यालय संगठन भित्र सबैले मन पराएका नवीनतम सोचका सिनियर सहसचिवको रुपमा परिचित हुनुहुन्छ । उहाँको नेतृत्वकालमा वास सेक्टरले निकै प्रगति हासिल गर्ने अपेक्षा छ ।
 
विभाग अन्तर्गत २० वटा अस्थायी प्रकृतिका आयोजना कार्यालयहरु छन् । नव नियुक्त महानिर्देशक सामु ती आयोजना कार्यालयहरुलाई स्थायी कार्यालयमा रुपान्तरण गर्नुपर्ने, विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गराउनुपर्ने, स्रोत सहमति, ठेक्का पट्टा व्यवस्थापन, करारका कर्मचारीको व्यवस्थापन गर्नुपर्ने लगायत जिम्मेवारी रहेको विभागका उपमहानिर्देशक रामचन्द्र काफ्ले बताउनुहुन्छ ।
वास खबर सहयोगमा
 

प्रतिक्रिया