नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी
- प्रकाशित मिति : आइत, असार ३०, २०८१
- - रासस
काठमाडौँ, ३० असार । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने एक राजनीतिज्ञ हुनुुहुन्छ ।
प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुई तिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष ओली संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेको समर्थनमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुनः आउनुभएको हो । संसद् विघटन र सर्वोच्च अदालतमा रिट निवेदन परेका अवधिलाई गणना नगर्ने हो भने अध्यक्ष ओली यसअघि तीन कार्यकाल प्रधानमन्त्री भइसक्नुभएको छ ।
विसं २०७१ साउन १ गते सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निर्वाचित ओली स्पष्ट अडान राख्ने र दृष्टिकोणमा अडिग रहने नेताका रूपमा चिनिनुहुन्छ । उहाँको गतिशील एवं सबल नेतृत्वमा पार्टी पनि यही देष्टिकोणका साथ अघि बढेको छ ।
नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलोपटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो । यसैगरी, विसं २०७४ को आम निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उहाँले दोस्रोपटक सरकारको नेतृत्व गर्नुभएको थियो ।
त्यसपछि २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकता भई उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्षमध्ये पहिलो वरियताको अध्यक्ष हुनुभएको थियो । पार्टीभित्रको विवादका कारण उहाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तत्कालीन राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्रीका हैसियतले मध्यावधि निर्वाचनका लागि गर्नुभएको सिफारिस सर्वोच्च अदालतको आदेशबाट बदर भएपछि अध्यक्ष ओली सरकारको नेतृत्वबाट बाहिरिनु भएको थियो ।
किसान परिवारमा जन्म, पञ्चायतविरोधी आन्दोलनमा अगुवाइ
निम्न मध्यम वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमाया ओलीको सुपुत्रका रुपमा जन्मिएका प्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटकपटक कठोर यातना भोग्ने सीमित नेताहरुमा पर्नुहुन्छ । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ जन्मनुभएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुग्नुभएको थियो । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्कनुभएका ओलीले बालक छँदा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गर्नुभएको थियो ।
तेह्रथुम छोडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ स¥यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तरघुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्था पार गर्नुभयो । हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वभावले ओलीलाई समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरुको उत्तर खोज्नतिर प्रेरित ग¥यो ।
अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका लागि कम्युनिष्टहरुको सहभागितामा भएको आन्दोलनमा उहाँको नेतृत्वदायी भूमिका रहँदै आएको छ ।
उहाँले लोकतान्त्रिक संरचनाहरुको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यतप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुनुहुन्छ ।
करिब छ दशक लामो राजनीतिक यात्राका क्रममा १४ वर्ष कठोर जेलजीवन बिताउनुभएका अध्यक्ष ओली २०७८ मङ्सिरमा चितवनमा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि भारी मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
पन्ध्र वर्षेको किशोर उमेरमै २०२३ सालमा उहाँ रामनाथ दाहालको अगुवाइमा रहेको माक्र्सवादी अध्ययन दलमा सामेल हुनुभयो । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या ग¥यो, उहाँहरूलाई अहिले झापा आन्दोलनका शहीदका रूपमा चिनिन्छ ।
माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाउनुभयो । पार्टी सदस्यता पाएको वर्ष नै पहिलोपटक उहाँ गिरफ्तारीमा पर्नुभयो ।
विसं २०२८ मा ओली झापा आन्दोलन कमिटीको प्रमुखमा मनोनीत हुनुभएको थियो । सोही आन्दोलनको आधारभूमिबाट अघि बढ्दै गएको पार्टी अहिलेको एमाले हो ।
निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरु २०३० सालमा पक्राउ पर्नुभएको थियो । त्यसपछि उहाँले चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताउनुभयो ।
अध्यक्ष ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी ९माले०को संस्थापकको हैसियतमा हुनुभयो । २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा ९माले०को केन्द्रीय कमिटी बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो ।
नेकपा ९माले० समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष बन्नुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा ९माले० र नेकपा ९माक्र्सवादी०बीच पार्टी एकीकरण भएर नेकपा ९एमाले० बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य रहनुभयो ।
संसदीय यात्रा र एमालेको नेतृत्व
बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभाको सदस्यमा ओली निर्वाचित हुनुभयो । त्यसको तीन वर्षपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट उहाँ प्रतिनिधिसभा सदस्य चुनिनु भयो । यही बीचमा पार्टी जिम्मेवारीका क्रममा उहाँ पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुख हुनुभयो ।
बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँ पहिलोपटक मुलुकको गृहमन्त्री हुनुभयो । उहाँले सफल गृहमन्त्रीको मानक स्थापित गर्नुभयो ।
जनकपुरमा २०५९ सालमा भएको एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा ओलीबाट प्रस्तुत पार्टीको आन्तरिक लोकतान्त्रिकीकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत भएपछि पार्टीको उहाँको प्रभाव थप विस्तारित भयो । सो प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले पारित ग¥यो । उहाँको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उहाँ पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित हुनुभयो ।
दुईपटक मिर्गौला प्रत्यारोपण गराउनुभएका ७३ वर्षीय अध्यक्ष ओली समकालीन अन्य नेताभन्दा बढी सक्रिय देखिनुभएकाले विकास र समृद्धिको अधुरो यात्राले गति लिने अपेक्षा गरिएको छ ।