भर्खरै

पहिरोले काठमाडौँ-वीरगञ्ज र काठमाडौँ-गौर चल्ने यात्रुबहाक बस त्रिशूलीमा बेपत्ता, बसमा ६५ जना रहेको आंशका

  • प्रकाशित मिति : शुक्र, असार २८, २०८१
  • - विद्युत संसार संवाददाता
title

चितवन, २८ असार । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस  बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५  जना रहेका बताइएको छ ।
शुक्रबार (आज) बिहान करीब ३ः३० बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ-वीरगञ्ज र काठमाडौँ-गौर चल्ने यात्रुबहाक बस बगाएको प्रारम्भिक विवरण प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
 
प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयो, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” 
 
जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा थालिएको र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको जनाएको छ ।
 
पहिरोेले पृथ्वी राजमार्ग अवरुद्ध
तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा  पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।  तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । 
 
याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि  रुख ढलेर पुनः राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
 
यस्तै बन्दीपुर गाउँपालिका–५ नयाँपुल नजिकसमेत पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण व्यास –१२ कमलबारी नजिकसमेत बाटो अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । यस्तै व्यास–१२ घाँसीकुवामा पहिरो खस्दा यो खण्डसमेत अवरुद्ध भएको छ । पहिरोका कारण सडक छेउ रहेका मेसिन समेत केही पुरिएको छ । डोजरलगायतका मेसिन पुरिएर बाहिर निकाल्न नपाउँदा अन्यत्र पहिरो पन्छाउन जान सकिएको छैन । यस्तै म्याग्दे –६ मौरीओडारमा समेत पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ । 
 
त्यस्तै वर्षाका कारण बुल्दीखोला बस्तीमा पस्दा तनहुँको व्यास–४ तल्लो सिमलटारका ४० घर डुबानमा परेका छन् । बुल्दीखोलामा आएको बाढीले खोला बस्तीमा पस्दा तल्लो सिमलटारका करिब ४० घर डुबानमा परेका हुन् ।
 
बुल्दीखोलाको बाढीले यहाँका घरका तल्लो कोठा र सटरमा रहेका सामग्री बगाएको स्थानीय श्रीराम कार्कीले जानकारी दिनुभयो । रातिको समयमा आएको बाढीका कारण मानवीय क्षति नभए पनि आर्थिक नोक्सानी भएको उहाँको भनाइ छ । 
 
उहाँले भन्नुभयो, “खोला पसेर घरको तल्लो कोठा र सटरमा रहेका सरसामान, फर्निचरलगायतमा ठूलो क्षति पुगेको छ । मानवीय जोखिम रहँदा हारगुहार गरी ज्यान बचाउन सफल भइएको छ । बस्ती जोखिममा रहेकाले सुरक्षित गर्न तुरुन्तै उच्च तारबार बलियो बनाउनुपर्ने अवस्था आएको छ ।” कृष्णपुरको कजवे भत्काएर बेलिब्रिजको व्यवस्थापन गर्न र बस्ती सुरक्षित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।  स्थानीय सोमबहादुर आलेले बाढीका कारण घरको तल्लो तल्लामा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहान अचानक बाढी आउँदा सबै भागाभाग भयो, अधिकांश घरमा बाढी पसेर क्षति पुगेको छ ।” जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार