भर्खरै

बाढीले जलविद्युत् आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध

  • प्रकाशित मिति : शनि, असार २२, २०८१
  • - विद्युत संसार संवाददाता
title

वालिङ (स्याङ्जा), २२ असार । अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत् आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । 
 
जिल्लाको गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला जलविद्युत आयोजनाको बाँधस्थलमा बाढीले क्षति पुर्‍याएपछि आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।
 
आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिटी, बालुवा भरिएको बिपिसीका प्रमुख डोल खरेलले बताउनुभयो । “खोलामा जल सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्रै टनेलमा पानी पठाउँछौँ र विद्युत् सेवा सञ्चालन हुनेछ ।”
 
गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको ९.४ मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मीको केही भेग र पर्वतको केही भेग गरी करिब ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको प्रमुख खरेलले जानकारी दिनुभयो ।
 
वालिङ–६ स्थित मिर्दी खोलामा आएको बाढीले मिर्दी बजार नजिकै रहेको वितरण लाइनको पोल बगाएको छ । खोला बढेकाले उपकरणसहित मर्मत गर्न जानसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
 
“बाढी र पहिराका कारण कहाँ के कति क्षति भएको छ भनी खोजी गरिरहेका छौँ”, खरेलले भन्नुभयो, “कार्यालयलाई जानकारी आएका र थाहा पाइएका केही ठाउँमा मर्मत भइसकेका छन् भने केही मर्मत भइरहेका छन् । कतिपय ठाउँमा जलसतह बढी भएकाले मर्मतमा समस्या भइरहेको छ ।”
 
मर्मतका लागि प्राविधिक र उपकरण तयारी अवस्थामा भएपनि ठाउँठाउँमा सडक अवरुद्ध भएकाले कठिनाइ भइरहेको बिपिसीका प्रमुख खरेलले जानकारी दिनुभयो । विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक काममा समस्या भइरहेको स्थानीय बताउँछन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ९ मङ्सिर । यो साता कारोबारक 17 hours ago

चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप

काठमाडौँ, ९ मङ्सिर । नेपाल विद्युत् प 18 hours ago