भर्खरै

मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै

  • प्रकाशित मिति : शुक्र, असार २१, २०८१
  • - विद्युत संसार
title

दमौली (तनहुँ), २१ असार । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण भइरहेको  छ । व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ३० प्रतिशत सकिएको मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० ले जनाएको छ । 
 
पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको जानकारी दिनुभयो । उक्त पुलका छवटा स्पान हुनेछन् । सन् २०२२ अगष्ट ११ मा पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो । 
 
इन्जिनियर पाण्डेका अनुसार पृथ्वी राजमार्गमा सबैभन्दा लामो ‘आर्क डिजाइन’ को उक्त पुल चारलेनको हुनेछ । हाल नदीमाथि रहेको दुईलेनको तीन सय ७० मिटर लामो पुल छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो ।
 
निर्माण कम्पनी जेडआइष्ट अन्नक जेभीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । पुल निर्माणका लागि राति ३० जना र दिउँसो एक सयभन्दा बढी कामदार परिचालन गरी दुई सिफ्टमा काम भइरहेको जानकारी दिनुभयो ।  
 
मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ पुल निर्माण भइसकेका छन् । ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माणकार्य जारी छ । 
इन्जिनियर पाण्डेले पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएकामा हालसम्म ६२ प्रतिशत सम्पन्न भएको छ ।  यहाँ चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम गरिरहेको छ । 
 
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा चारलेनको सडक बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।  

प्रतिक्रिया