एसइईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?
- प्रकाशित मिति : बिही, असार १३, २०८१
- - विद्युत संसार संवाददाता
भक्तपुर, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा -एसइई_को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।
परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड -एनजी_ ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उहाँले जानकारी दिनुभयो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिनुभयो ।
बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा=लि=मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन् ।
त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, नेपाल टेलिकम, खल्ती, इसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा विवरण हेर्न सक्नेछन् ।