भर्खरै

माथिल्लो त्रिशूली–१ निर्माण तीव्र गतिमा

  • प्रकाशित मिति : सोम, असार १०, २०८१
  • - विद्युत संसार संवाददाता
title

रसुवा, १० असार । यहाँको हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । यो दुई सय १६ मेगावाट क्षमताको छ ।  सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
 
सन् २०१९ देखि निर्माण सुरु भएको सो जल विद्युत् आयोजनाको सुरूङ खन्ने काम ६५ प्रतिशत सकिएको छ ।  आयोजनाको पावर हावस तथा ट्रान्सफर्मर राख्ने स्थलको भूमिगत संरचना, चार सय २० मिटर ‘हेडरेस’ सुरूङलगायतका काम ६५ प्रतिशत पूरा भएको छ । सुरूङको बाँकी काम एक वर्षभित्र सम्पन्न् गर्ने लक्ष्य आयोजनाको छ । 
 
धुञ्चेको त्रिशूली दोभान तथा भोटेकोशी सङ्गमस्थलमा बाँध बाँधी छ मिटर गोलाइको नौ हजार चार सय ९१ मिटर ‘हेडरेस’ सुरूङको सहायताबाट त्रिशूली नदीको ७६ क्युसेक पानी मैलुङ दोभानमा पु(याई तीन वटा टर्वाइनबाट दुई सय १६ मेगावाट  विद्युत् उत्पादन गरिने छ । सन् २०२६ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जलविद्युत् आयोजनाका सहायक प्रबन्धक विप्लव खड्काले जानकारी दिनुभयो ।  
 
सम्पूर्ण संरचना भूमिगत रहने भएका कारण बाढीपहिरो, भूक्षय, चट्याङ तथा भूकम्पले असर नगर्ने वातावरण विज्ञ मधु पाण्डेले बताउनुभयो । आयोजना निर्माणको क्रममा वातावरणलाई कुनै असर नपारिएको प्राविधिकहरुले बताएका छन् । 
 
आयोजना निर्माण सम्पन्न गर्न करिब ७० देखि ८० अर्ब लागत लाग्ने र निर्माण सम्पन्न भएको ३० वर्ष पछि स्वतः नेपाल सरकारको हुने आयोजनाले जनाएको छ । राजधानी काठमाडौँबाट तीन घण्टाको दूरी उत्तरमा रहेको आयोजनास्थल बेत्रावती– स्याफ्रुबेँसी राजमार्गसँगै रहेका कारण निर्माण सामग्रीलगायत उपकरण ढुवानीमा सहज भएको आयोजनाले जनाएको छ ।
 
कोरिया एक्जिम, एसियाली विकास बैंकलगायत गरी विभिन्न नौ बैंक तथा दातृ संस्थाको सहुलियतपूर्ण कर्जा सहयोगमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको  प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)ले ओैँल्याएका  र स्थानीयको  आवश्यकतालाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ । सो आयोजनाले धुञ्चेस्थित रसुवा माविलाई विद्यार्थी छात्राबास , हाकुबेँसीमा पक्की पुल निर्माण गरेको छ । भूकम्प तथा कोभिड–१९को समयमा राहत एवं स्वास्थ्य क्षेत्रलाई सहयोग गरेको थियो । 
 
सुरक्षा निकाय अन्तर्गत नेपाल प्रहरीलाई हाकुमा सुरक्षा चौकी निमार्ण गर्न जग्गा प्रदान गरेको छ । आयोजनाका प्रबन्धक गिरीराज अधिकारीले कम्प्युटर, भाषा, कुक, सवारीसाधन चलाउने, सीपमुलक तालिमसमेत स्थानीयलाई प्रदान गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया