भर्खरै

विद्युतीकरणले झिलीमिली भयो महाभारत

  • प्रकाशित मिति : बिही, जेठ ३१, २०८१
  • - विद्युत संसार संवाददाता
title

धुलिखेल, ३१ जेठ । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा केन्द्रीय प्रसारणको विद्युत् जडान भएपछि सबै गाउँघर झिलिमिली भएका छन् । विसं २०७५ बाट विद्युतीकरण सुरु भएकोमा यही जेठ महिनाभित्र सम्पन्न भएको हो । 
 
गाउँपालिकालाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । पालिकामा अहिलेसम्म तीन हजार चार सय ३० वटा मिटरबक्स वितरण भइसकेको र ती सबै घरमा बत्ती बलिसकेको गाउँपालिको जनाएको छ । 
 
बिहिबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाभारत गाउँपालिकालाई पूर्णविद्युतीकरण पालिका घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिनुभयो । “अब हामी पूर्णविद्युतीकरण पालिका भइसकेका छौँ ”, उहाँले भन्नुभयो, “विसं २०७५ सालदेखि सुरु गरेको विद्युतीकरण विसं २०७६ देखि कार्यान्वयनमा ल्याएको र हाल ती सबै कार्य पूरा गर्न सफल भएका छौँ ।” 
 
विद्युत जोडिएपछि गाउँमा साना उद्योगसमेत सञ्चालनमा आएको उहाँले बताउनुभयो । विद्युत जडान भएपछि यहाँका नागरिकले पिठो पिस्ने मिल, दूध मिल, चिस्यान केन्द्र तेल पेल्ने मिल र कफी सफा गर्ने मेसिनलगायतका साना घरेलु उद्योग सञ्चालनमा ल्याएका छन् । महाभारत गाउँपालिका(४ कलवानका स्थानीयवासी दिपेश लामाले बत्ती बलेपछि निकै उत्साह बढेको बताउनुभयो । यसअघि बालबालिकालाई पढाउन टुकी बत्तीको सहारा चाहिने बाध्यता अन्त्य भएको उहाँको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार