घर खरानी भएपछि बिचल्ली

  • प्रकाशित मिति : सोम, बैशाख १०, २०८१
  • - विद्युत संसार संवाददाता
title

अर्घाखाँची, १० वैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै हुनुहुन्थ्यो । शनिबार लागेको आगोेले उहाँको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि उहाँलगायत टोलका १६ परिवारको बिचल्ली भएको छ । 
 
 
“घर एक्कैछिनमा खरानी भयो । गाँसबासको  टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने”, आँशु झार्दै मल्लले भन्नुभयो । 
 
स्थानीय गङ्गाबहादुर विकको पनि मल्लको जस्तै पीडा छ । “घरमा रहेको गरगहना, अन्न कपडा, लालपुर्जा, नागरिकता सबै जलेर नष्ट भयो”, उहाँले भन्नुभयो, “घरमा रहेका कुनैपनि वस्तु बचाउन सकिएन ।” 
 
बसन्ता र गङ्गाबहादुर मात्र हैन धारापानीमा शनिबार आगलागीमा परेर घर जलेका १३ परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । आगोले भूमिकास्थान नगरपालिका  धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायत गाउँमा आगोले १६ घर र १०   गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिनुभयो । बस्तीमा पसेको आगो निभाइए पनि वनमा अझै पूर्णरुपमा निभाउन सकिएको छैन । 
 
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गाउँमै गएर डढेलोले घर गुमाएका परिवारलाई खाद्यान्न सामग्री वितरण गर्नुभएको छ । आगलागीबाट घर नष्ट भएका रातामाटा क्षेत्रका १६ परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यान्न सामग्री उपलब्ध गराएको हो । उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरिएको बताउनुभयो ।  
 
आगोले गाउँनै सखाप भएको  छ ।  जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीबाट ४३ घर गोठ जलेर नष्ट भएका छन् । शनिबार भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनी गाउँपालिकामा  डढेलोले २० घर र २३ गोठ जलेर नष्ट भएका छन् भने ११ बाख्रा र ६ भैँसी मरेका छन् । 

प्रतिक्रिया