रुपन्देही विद्युतीय व्यवसायी संघले बनायो तिलोत्तमामा किरियापुत्री भवन, नगरप्रमुख खाँडद्धारा उद्घाटन

  • प्रकाशित मिति : मंगल, चैत १३, २०८०
  • - भीमलाल श्रेष्ठ / विद्युत संसार संवाददाता
title

रुपन्देही, १३ चैत्र । रुपन्देही विद्युतीय ब्यवसायी संघद्धारा रुपन्देहीको तिलोत्तमा ७ दल्कामा नवनिर्मित सचिवालय तथा किरियापुत्री भवनको शुक्रबार एक समारोहका बीच उदघाटन गरिएको छ ।  
 
संघले करिब ६० लाखको लागतमा १ तलाको किरियापुत्री नवनिर्मित भवनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले उद्घाटन गर्नुभएको हो ।
 
तिलोत्तमा नगरपालिकाका तत्कालीन नगर प्रमुख वासुदेव घिमिरेले संघलाई नगरपालिकाको जग्गा उपलब्ध गराएका थिए । सोही जग्गामा २०७६ असार २५ गते प्रथम नगर प्रमुख वासुदेव घिमिरेको प्रमुख आतिथ्यता, तिलोत्तमाका वडा नं. ७ का तत्कालीन वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डे र नेपाल विद्युतीय व्यवसायी महासंघका तत्कालीन अध्यक्ष तेजनारायण खरेलको विशिष्ट आतिथ्यतामा भवन निर्माणको लागि सिलन्यास भएको थियो । उक्त भवन निर्माण कार्य सुरु भएको करिब ५ वर्षको अवधिमा आधुनिक सुविधा सम्पन्न १ तलाको किरियापुत्री भवन निर्माण भएको छ ।
 
उद्घाटनको क्रममा अवसरमा बोल्दै नगरप्रमुख खाँडले ब्यवसायिक सोचबाट माथि उठेर संघले सामाजिक उत्तरदायित्व अन्तर्गत निमार्ण गरेको भवन उदाहरणीय र सर्वोत्तम कार्य भएको बताउनुभयो । उहाँले पछिल्लो समय मानवीय समबेदना हराउदै गैरहेको अवस्थामा रुपन्देही विद्युतीय ब्यवसायी संघले किरियापुत्री भवन बनाएर अनुपम कार्यको शुरुवात गरेको भन्दै प्रशंशा गर्नुभयो ।
 
नेपाल विद्युतीय ब्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा पुर्व अध्यक्ष, सल्लाहकार, विभिन्न जिल्ला र क्षेत्रबाट आएका पदाधिकारी, संघका रुपन्देही र तिलोत्तमाका कार्यसमिति सदस्य लगायतको सहभागिता रहको थियो । 
 
तिलोत्तमा नगरपालिकाको दल्कामा सुन्दर र शान्त रमणीय स्थानमा ५ कोठासहित  करिब ६० लाखको लागतमा १ तला पक्की भवनमा प्रत्येक रुम एट्याच बाथरुमसहित निर्माण भएको छ । संघले ३ कोठा किरियापुत्रीका लागि र अन्य २ वटा कोठा अन्य प्रयोजनका लागि निर्माण गरेको हो ।
 
 
रुपन्देही विद्युतीय व्यवसायी संघको स्थायित्व, व्यवसायिक हकहित र संरक्षण गरी बुलन्द आवाज उठाउनका लागि संघले भवन निर्माण गरेको हो ।  मानिस सुखमा रमाउनको लागि पार्टी प्यालेस र मठमन्दिर जहाँ भएतापनि दुःखको क्षणमा  मृत्युपछिको १३ दिनको संस्कार गर्ने ठाउँ शहरमा पाउन मुस्किल परिरहेको अवस्थामा संघले सामाजिक उत्तरदायित्व लिदै  किरियापुत्री भवन निर्माण गरेको हो ।
 
 

प्रतिक्रिया