करेन्ट लागेर मृत्यु भएका परिवारलाई सरकारद्वारा आर्थिक सहयोग

  • प्रकाशित मिति : सोम, चैत १२, २०८०
  • - विद्युत संसार संवाददाता
title

तुलसीपुर, १२ चैत । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि सरकारले आर्थिक सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु एक÷एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु दुई/दुई लाख, नेपाल विद्युत् प्राधिकरण लमहीद्वारा जनही रु पाँच÷पाँच लाख सहयोग गर्ने सहमति भएको छ । पीडित र पीडक पक्षबीच हिजो भएको सहमतिअनुसार मृतक परिवारका सदस्य राप्ती गाउँपालिका–३ मसुरिया निवासी लालबहादुर केसीलाई योग्यताबमोजिम नेपाल विद्युत् प्राधिकरणमा रोजगारको व्यवस्थापन गर्ने सहमति भएको छ । 
 
पीडित पक्षका घाइतेको उपचारमा लागेको खर्च, दाहसंस्कार तथा किरिया खर्चका लागि ६० हजार तथा थप राहतका लागि पालिकाको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिसमक्ष पेस गर्ने सहमति भएको छ ।  
 
त्यसैगरी, पीडित परिवारलाई नगद राहत उपलब्ध गराउने तथा पीडित परिवारकी मृतक दिलसरा केसीको छोरी ईश्वरी सुनारलाई कक्षा १० सम्म राप्ती गाउँपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । पीडित पक्षले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । विद्युत्को लाइन चँुडिएर करेन्ट लाग्दा शनिबार एकै घरका तीनजनाको मृत्यु भएको थियो ।
 
हाइटेन्सन लाइनको विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय  नाति कृष्ण केसीको मृत्यु भएको हो । दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो । घाइते ६० वर्षीय  गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

प्रतिक्रिया