भर्खरै

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा

  • प्रकाशित मिति : बुध, फागुन ९, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, ९ फागुन । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
महाशाखका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो देशभर नै बदली र वर्षाको सम्भावना छ । तापक्रम स्थिर रहनेछ । “अहिले मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको छ, दिउँसो सबै प्रदेशका एक–दुई स्थानमा भए पनि वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ”, उहाँले राससलाई भन्नुभयो ।
 
मौसमविद् अधिकारीले तुलनात्मकरूपमा पछिल्ला दिनमा देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी असर रहेकामा आज उक्त प्रणाली गण्डकी, बागमती हुँदै पूर्वी भेगतर्फ सरिरहेकाले बढी प्रभाव हुने अनुमान गरिएको बताउनुभयो । आजभन्दा भोलि बिहीबार बढी वर्षाको सम्भावना रहेको र शुक्रबारदेखि मौसममा क्रमिकरूपमा सुधार हुने महाशाखाले जनाएको छ ।
 
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ । मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।
 
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी पहाडी भागका एक वा दुई स्थानमा मेघगर्ज र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार