उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री

  • प्रकाशित मिति : बिही, फागुन ३, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ । भारतीय विश्वविद्यालय सङ्घ ९एआइयु०–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
 
        “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीले विश्वव्यापीरूपमा अवसर खोज्नेका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।” उहाँले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
 
        विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतिसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्धानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ति देखिएको बताउनुभयो ।
 
        “उच्च शिक्षाको सन्तुलन विश्वव्यापीरुपमा उत्तरतिर झुकेको देखिन्छ”, उहाँले भन्नुभयो, “महँगो बजेटका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उत्तरका शैक्षिक प्रणालीहरूले आकर्षित गरेपनि यो अवस्था लामो समयसम्म यस्तो अवस्था नरहन सक्छ ।”

प्रतिक्रिया