भर्खरै

विद्युतीकरणले टुकी बाल्ने घटे

  • प्रकाशित मिति : आइत, माघ १४, २०८०
  • - विद्युत संसार संवाददाता
title

ढोरपाटन (बागलुङ), १४ माघ । “मैले १७ वर्षको उमेरमा नुन ल्याउन जाँदा सुनौलीमा पहिलोपटक बिजुली बत्ती देखेको थिएँ, अहिले त तल बेँसीतिर पनि झिलिमिली छ”, बागलुङको निसीखोला गाउँपालिका–५ का पितराम घर्तीमगरले गत साताको एक विहान सुनाउनुभयो ।
 
उहाँ अहिले निसेलढोरमा बस्नुहुन्छ । कहिलेकाहीँ निसीगाउँमा पनि झर्नुहुन्छ । निसीगाउँमा बिजुलीको सुविधा छ तर निसेलढोरमा अहिलेसम्म पुगेको छैन । तर उहाँले निसेलढोरमा सौर्य ऊर्जा (सोलार बत्ती) बाल्दै आउनुभएको छ । उहाँले दिनभरि घाम लाग्दाको रात सोलार बत्ती बाल्नुहुन्छ । बर्खाको समयमा भने दियालो र टुकीकै भरमा रात कटाउनुहुन्छ ।
 
एक दशक अगाडिसम्म दियालो र कुटीकै भरमा रात कटाउने पितराम अहिले सोलार बत्ती बल्न पाउँदा हर्षित हुनुहुन्छ । पिताराममात्रै होइन, बागलुङको अधिकांश क्षेत्रका नागरिकले टुकीको भरमा रात कटाउँथे । यद्यपि अहिले पनि केही बस्तीमा विद्युत्को पहुँच छैन तर उनीहरूले टुकीको सट्टा वैकल्पिक ऊर्जाको प्रयोग गर्छन् । पछिल्लो समय दुर्गम गाउँसम्म विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोग बढ्न थालेसँगै टुकी र दियालो बाल्ने परम्परा लोपोन्मुख भएका छन् । जिल्लाको ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत् पुगी नसके पनि पहिलेको जस्तो मट्टितेल बजारमा पाइँदैन ।
 
कुनै बेला एक लिटर मट्टितेल पाउनका लागि घण्टौँ लाइन बस्ने स्थानीयलाई अहिले त्यसको चाख छैन । बेँसीमा बिजुली बत्ती र लेकमा सोलार बत्तीले रातलाई पनि उज्यालो बनाएको पितराम बताउनुहुन्छ । अहिलेसम्म बिजुलीबत्ती नपुगेका ठाउँमा सोलार बत्ती र अन्य विद्युतीय बत्ती पुगेको उहाँको भनाइ छ । पहिले आफूहरूले रातिमा उज्यालो पार्नका लागि दिनभरि दियालो, दाउरा र भाङ बटुल्ने गरेको स्मरण गर्दै अहिले त्यस बेलाको जस्तो झण्झट गर्नु नपर्ने बताउनुहुन्छ ।
 
उहाँ भन्नुहुन्छ, “समयले धेरै फड्को मारेछ, कस्ता अन्धकार थिए हाम्रो जमाना, अहिले झिलिमिली छ, गाउँगाउँमा बिजुली आएको छ, कति ठाउँमा जडान हुँदैछ, हाम्रो पालामा कसैको घरमा बिजुली बत्ती थिएन, सोलार पनि आएका थिएनन्, धनीमानीले मट्टितेल लिएर टुकी बाल्थे, हामीहरूले त उही दाउरा र दियालो बाल्थ्यौँ, पछिपछि तेलको मूल्य सस्तो भएपछि गाउँ भरिकाले टुकी बाल्न थालेका थिए, अहिले त टुकी बाल्ने चलन नै हरायो ।”
 
अहिले पनि जिल्लामा दुई सय १४ परिवारमा विद्युत्को सुविधा नपुगे पनि उनीहरू टुकी र सौर्य ऊर्जाकै भरमा छन् । जिल्लाका धेरै स्थानमा अझै पनि केन्द्रीय विद्युत् पुगेको छैन । तर लघुजलविद्युत भने अधिकांश ठाउँमा छन् । अहिले बागलुङमा ६२ हजार दुई सय २८ परिवारमा बिजुलीको पहुँच छन् । 
 
तमानखोला गाउँपालिका(३ का रनबहादुर रोकाले मट्टितेलबाट बत्ती बाल्न छाडेको एक दशक भएको बताउनुभयो । दश वर्ष अगाडिसम्म टुकी बाले पनि त्यसयता सोलार बत्ती बाल्न थालेको बताउनुभयो ।
 
“अहिले ७४ वर्ष भएँ, ६४ वर्षसम्म मैले टुकी बालेरै रात कटाएको हुँ, म धेरैजसो गोठमा बस्ने हुँदा यहाँ बिजुली आएको छैन, पहिलोपटक सोलार बत्ती बाल्दा निकै खुसी लागेको थियो, मट्टितेलबिना पनि बत्ती बल्दोरैछ जस्तो लाग्थ्यो”, उहाँले भन्नुभयो, “अहिले जताततै बिजुली आए, गाउँ झिलिमिली भए, विकास हुन धेरै समय लाग्दो रैनछ, अहिले त बिजुली नपुगेको गाउँ छैन, जता हेर्यो उतै बिजुलीको झिलीमिली छ, अहिले त पहिलेको जस्तो टुकी भेटिन पनि छोड्यो ।”
 
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले जिल्लाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन जोड्न थालेको बताउनुभयो । जिल्ला सदरमुकामसँग जोडिएका पालिकामा केही वर्ष पहिले नै केन्द्रीय लाइनले जोडिए पनि पश्चिम बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा चालु आर्थिक वर्षमा काम सुरु गरेको उहाँको भनाइ छ । अगामी दुई वर्षभित्र बागलुङका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन पुग्ने पौडेल बताउनुहुन्छ ।  

प्रतिक्रिया