भर्खरै

‘सूचना प्रविधिको विकासका लागि संस्थागत र जनशक्तिको पुनःसंरचना आवश्यक’

  • प्रकाशित मिति : बुध, माघ १०, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, १० माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका हरेक क्षेत्रमा सूचना र प्रविधिको विकास लागि संस्थागत र जनशक्तिको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ ।
 
आगामी १६औँ पञ्चवर्षीय योजनामा समेटिनुपर्ने मन्त्रालय र मातहतका निकायका लक्षित कार्यक्रमबारे आज मन्त्रालयमा भएको छलफलमा उहाँले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि पनि दक्षजनशक्ति र चुस्त निकाय बनाउन उक्त पुनःसंरचना आवश्यक रहेकामा जोड दिनुभयो ।
 
मन्त्री शर्माले मन्त्रालयलमातहतका निकायको संस्थागत र सञ्चारमाध्यममा रहेका जनशक्तिको पुनःसंरचना गरी क्षमता अभिवृद्धिमा लाग्न सबैलाई आग्रह गर्नुभयो । साथै उहाँले आजको युगमा सूचना र प्रविधि हरेक क्षेत्रको उदाउँदो र अपरिहार्य विषय भएकाले सूचना प्रविधि प्राधिकरण वा यस्तै अन्य संस्थागत संरचनाको आवश्यकता औँल्याउनुभयो । 
 
मन्त्री शर्माले मन्त्रालय एक्लैले मात्र काम गरेर सफलता हासिल नहुने भन्दै मातहतका निकायका नेतृत्वले पनि उत्साहका साथ काम गर्नुपर्ने बताउनुभयो ।  
 
कार्यक्रममा मन्त्रालयलका सचिव रामकृष्ण सुवेदीले सोह्रौँ योजना आगामी पाँच वर्षसम्म मुलुक रुपान्तरणका लागि मार्गनिर्देशन भएकाले सोहीअनुसार कुनै पनि विषय नछुटने गरी समावेश गर्नका लागि लाग्न मातहतका निकायलाई निर्देशन दिनुभयो । साथै उहाँले योजनामा लक्षित कार्यक्रम समावेश गर्ने सन्दर्भमा मातहतका निकायलाई मन्त्रालयले समाधानका लागि गर्नुपर्ने आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 
कार्यक्रममा मन्त्रालयका उच्च कर्मचारीका साथै मातहतका निकायका प्रमुख र पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार