भर्खरै

छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने स्थिति छ: अर्थमन्त्री

  • प्रकाशित मिति : शुक्र, पौष १३, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, १३ पुस । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताउनुभएको छ ।
     
भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री डा महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताउनुभयो । उहाँले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार मूल्यवृद्धि पाँच दशमलव पाँचबाट नबढ्नुले पनि सकारात्मक सङ्केत मिलेको स्पष्ट पार्नुभयो । मन्त्री डा महतले रातो किताबमा तोकिएकोभन्दा बाहिरबाट खर्च गर्ने स्थितिको अन्त्य गर्दै बजेट प्रणालीमा सुधार ल्याएको उल्लेख गर्नुभयो ।
     
समाजका अध्यक्ष डा नारायण खड्काले ज्ञान र सूचनाको केन्द्रका साथै मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभव पनि भएकाले पुस्तकालयलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले समाजका लागि बजेट कटौती गरेको, पुस्तकालयको भवनका लागि जग्गा नभएको र समाजकल्याण परिषद्ले व्यापारिक पसल सरह भाडा बढाउने गरेको समस्याबारे मन्त्री डा महतलाई अवगत गराउनुभयो । 
 
कार्यक्रममा समाजका अगुवा महेश अग्रवाल र तीर्थराज वन्तलाई सम्मान गरिएको थियो । विसं २०६० असोज ८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सो पुस्तकालयमा वार्षिक ३० हजारभन्दा बढी पाठक आउने गरेका छन् । यसका दुई हजार चार सय वार्षिक सदस्य रहेका छन् । समाजले २०६२ सालदेखि पुस्तकालय सञ्चालन गरेको हो । पुस्तकालयमा हालसम्म ३७ हजार छ सय १४ पुस्तक उपहारस्वरुप प्राप्त भएका छन् भने चार हजार तीन सय ५१ पुस्तक खरिद गरिएका समाजले जनाएको छ ।

वाल्मीकि विद्यापीठले जग्गा दिने

सोही अवसरमा वाल्मीकि विद्यापीठका प्रमुख प्रा डा भागवत ढकालले विद्यापीठको हातामा संयुक्त पुस्तकालय सञ्चालन गर्नेगरी समाजको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने प्रस्ताव गर्नुभयो । उहाँले विद्यापीठका लागि पुस्तकालय बनाउन बजेट अपुग भएका बेला समाजले भवनमा स्रोत खोज्ने गरी संयुक्त पुस्तकालय सञ्चालनमा ल्याउन सकिने बताउनुभयो ।

प्रतिक्रिया