भर्खरै

बक्यौता नतिर्ने उद्योगको लाइन क्रमशः काट्दै जाने रणनीतिमा प्राधिकरण

  • प्रकाशित मिति : बिही, पौष १२, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, १२ पुस । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट बिद्युत् उपभोग गरेको र बक्यौता नतिर्ने उद्योगको लाइन क्रमशः काट्दै जाने रणनीतिमा प्राधिकरण रहेको छ । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बक्यौता उठाउन निर्देशन दिइसक्नु भएको छ । प्राधिकरणले पनि राजस्व छुट दिन नसकिने बताउदै पटक पटक बक्यौता तिर्न आग्रह गर्दै आएपनि ति उद्योगहरुले अटेर गर्दा प्राधिकरण विद्युत लाईन काट्दै आएको छ । 
 
प्रधानमन्त्रीको निर्देशनपछि  पछिल्लो पटक प्राधिकरणले केही ठूला उद्योगको बिजुली काटिदिएको छ । उद्योगमा बिजुली काटिएपछि उद्योगी– व्यवसायीले आपत्ति जनाउँदै आएका छन् ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज  यहाँ आयोजित पत्रकार सम्मेलनमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् लिएकाको लाइन काटेर बक्यौता उठाउन निर्देशन दिइसकेको सन्दर्भमा छुट दिन नसकिने बताउनुभयो । 
 
डेडिकेटेड तथा ट्रङ्क लाइनबाट बिद्युत् उपभोग गरेको कूल ६१ वटा उद्योगको कुल बक्यौता रु २२ अर्ब २४ करोड बराबर छ । त्यसमध्ये करिब रु १२ अर्ब ५० करोड बराबरको बक्यौता हालै लाइन काटिएका नौ वटा ठूला उद्योगको छ । 
 
कार्यकारी निर्देशक घिसिङले महशुल उठाएरै छाडिने र सबै तथ्य तथ्यांक सुरक्षित रहेको समेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षकको कार्यालय तथा सार्वजनिक लेखा समितिले बक्यौता उठाउन बारम्बार निर्देशन दिएको उल्लेख गर्दै घिसिङले भन्नुभयो “ हामीले पनि उद्योगी व्यवसायीलाई धेरै पटक अनुरोध ग¥यौँ । उहाँहरुले वास्ता गर्नुभएन । हामी बाध्य भएर लाइन काट्ने निष्कर्षमा पुगेका हौँ ।” जुनसुकै विकल्प अपनाएर भए पनि बक्यौता बुझाउन उहाँले आग्रह गर्नुभयो । 
उपभोक्ताले विगतमा दैनिक रुपमा १७÷१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेका बेला तीन सय ३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत २० घण्टाभन्दा बढी बिजुली उपभोग गरेका थिए ।  कूल दुई सय ३९ ग्राहकमध्ये एक सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रङ्क लाइनबापतको प्रिमियमसहितको विद्युत् महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन् ।

प्रतिक्रिया