भर्खरै

बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन: प्रधानमन्त्री

  • प्रकाशित मिति : बुध, पौष ११, २०८०
  • - विद्युत संसार
title

गोरखा, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताउनुभएको छ ।
 
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा  उहाँले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी  आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको उल्लेख गर्नुभयो । 
 
‘‘बूढीगण्डकी आयोजना के होला ? कसो होला ? भन्ने भइरहेको थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ ।’’
 
एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उहाँले बताउनुभयो । “यो आयोजनाबाट भविष्यसम्म पनि गोरखा र गोर्खाली जनताको आर्थिक विकास र सम्बृद्धिका निम्ति तथा  रोजगारीको अवसर पनि हुन्छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो । 
 
 
गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सांसदसमेत रहनुभएका प्रधानमन्त्री दाहालले निर्वाचनका बेला आफूले जनता समक्ष गरेको प्रतिबद्धता नबिर्सिएको तर केही कारणले ढिलाइ भएको उल्लेख गर्नुभयो । उहाँले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग निर्माण गर्नका लागि छलफल अगाडि बढाइसकेको बताउनुभयो । 
 
प्रधानमन्त्री दाहालले आँपपिपल अस्पताललाई ५० शय्याका रुपमा विकास गरे जिल्लाको स्वास्थ्य क्षेत्रमा आमूलपरिवर्तन ल्याउन सकिने र त्यसका लागि आधार तयार पार्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया