गण्डकी प्रदेश सरकारद्वारा पूर्वाधार निर्माणलाई तीव्रता

  • प्रकाशित मिति : सोम, पौष ९, २०८०
  • - विद्युत संसार
title

गण्डकी, ९ पुस । गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै  पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ ।
 
यसअघि ठेक्का सम्झौता भइसकेका र नयाँ आयोजना कार्यान्वयनमा गएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले बताउनुभयो । कार्यालयले समस्याग्रस्त भनेर औँल्याएका आयोजनाका निर्माण कम्पनीलाई काममा फर्काइएको उहाँले उल्लेख गर्नुभयो ।
 
उहाँले पुराना बहुवर्षीय छ सडक आयोजनाको काम अगाडि बढेको जानकारीदिनुभयो । रु ३० लाखदेखि रु दुई करोडसम्मका आधा बढी आयोजनाको ठेक्का सम्झौता भइसकेको उहाँको भनाइ छ । चालु आवमा उक्त कार्यालयमा रु ८८ करोड बजेट छ । 
 
कार्यालयमार्फत नयाँ र पुराना गरी कूल एक सय ६५ आयोजना कार्यान्वयन हुने जनाइएको छ । कार्यालय प्रमुख घिमिरेका अनुसार चालु आवमै कार्यान्वयन गर्नुपर्ने दुईवटा सडक र दुईवटा सडक पुल विस्तृत आयोजना प्रतिवेदन बन्ने चरणमा छन् । 
 
बहुवर्षीय सडक र पुल निर्माण पछिल्लो दुई वर्षयता सुस्ताएको थियो । काम रोकेका आयोजनाका निर्माण कम्पनीलाई ताकेता गरी काममा फर्काइएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । धरौटी जफत, ठेक्का सम्झौता रद्ध, कालोसूचीमा राख्ने तयारी गरिएपछि निर्माण कम्पनीमा काममा खटिएका हुन् । 
 
कार्यालयले समस्याग्रस्त आयोजनाको सूचीमा छ सडक आयोजनालाई राखेको थियो । दुईवटा सडक र दुईवटा सडक पुलको बहुवर्षीय ठेक्का लगाउन भौतिक मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले बजेट स्वीकृत गरेको जनाइएको छ । 
 
पुराना बहुवर्षीय योजनाहरुलाई यस वर्ष सम्पन्न गराउन थप रु २१ करोड बजेट माग गरिएको कार्यालयले जनाएको छ । मन्त्रालयले रकमान्तरण गरेर भए पनि निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानीको व्यवस्था मिलाउने तयारी गरेको जनाएको छ । 

प्रतिक्रिया