एनसेलको शेयर खरिद-बिक्रीबारे छानविन गर्न समिति गठन
- प्रकाशित मिति : शुक्र, मंसिर २२, २०८०
- - विद्युत संसार
काठमाडौँ, २२ मङ्सिर । सरकारले एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शेयर खरिद-बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो । समितिलाई ३० दिनको समय दिइएको छ ।
पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल)को संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव नितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गर्ने निर्णय भएको हो । समितिले आजैबाट कामको सुरु गरिसकेको छ ।