भर्खरै

तिहारमा आगलागीको घटना बढ्दो मनोरञ्जनका लागि पड्काएको पड्काबाट आगलागी, ५० लाखभन्दा बढीको क्षति

  • प्रकाशित मिति : सोम, कार्तिक २७, २०८०
  • - विद्युत संसार
title

इनरुवा, २७ कात्तिक । गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ ।
 
सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा  आगलागी भएको जानकारी दिनुभयो ।
 
लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का  जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । 
 
आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ । 
 
इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सङ्खुवासभा खाँदबारीमा दियोबाट आगो सल्किँदा आगलागी 

सङ्खुवासभा, २७ कात्तिक । सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । आगलागीबाट राईको घर पूर्णरुपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन ।
 
आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो ।  आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । आगलागीबाट नगद रु ३१ हजार पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा पनि आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ । आगलागीबाट कति क्षति भयो भन्ने विवरण आइनसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया