भर्खरै

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारततर्फ निर्यात

  • प्रकाशित मिति : सोम, कार्तिक २७, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं,  २७ कात्तिक । तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट रेकर्ड गरिएको छ ।
 
नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन हिजो आइतबार साँझ ६ बजे पिक डिमाण्ड १४३८ मेगावाट पुगेको रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो ।
 
काठमाडौं उपत्यकामा मात्रै यस वर्ष लक्ष्मी पूजाको दिन पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो ।
 
 
 
तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । लक्ष्मी पूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको प्राधिकरणले जनाएको छ । 
 
 
देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात पनि गरिएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मी पूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो ।
 
लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए ।
 
 
कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताउनुभयो । 
 
 
विगत वर्षमा झैँ यस वर्ष लक्ष्मी पूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।
 
२०७३ को लक्ष्मी पूजाकै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाट मुक्त मात्र छैन देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात पनि भइरहेको छ ।

प्रतिक्रिया