भर्खरै

पर्यटकीय गन्तव्य छेन्तुङमा पुगेन विजुली, सांसदहरुले वितरण गरे सोलार ऊर्जा

  • प्रकाशित मिति : मंगल, असोज १६, २०८०
  • - रासस
title
बागलुङ, १६ असोज । ढोरपाटन उपत्यकाको चारैतिर घना जङ्गल, तलपट्टी उत्तरगङ्गा र मध्यभागमा छ, छेन्तुङ गाउँ । प्राकृतिक सुन्दरताले भरिएको छेन्तुङ अहिले पनि अन्धकारमै छ । 
 
छेन्तुङलाई पर्यटकीय गन्तव्य मानिए पनि विद्युत लगायत अन्य पूर्वाधार गाउँलाई छुन सकेको छैन । नजिकै जङ्गल भए पनि स्थानीयलाई घाँस, दाउरा गर्न गाह्रो छ । सिकार आरक्ष क्षेत्रमा पर्ने हुँदा विकास निर्माणका अन्य काम गर्न पनि समस्या हुने गरेको छ । विद्युतको पहुँचभन्दा टाढा हुँदा पर्यटक घुम्न आए पनि बास नबसी फर्कने गरेका छन् । ढोरपाटन नगरपालिका–६ छेन्तुङ गाउँभन्दा केही पर रहेको स्यालपाखे, पाखाथर लगायतका गाउँमा भने चिम बाल्नका लागि भए पनि विद्युतको पहुँच पुगेको छ । 
 
यहाँ चार सयभन्दा बढी घर परिवार छन् । पहिले यहाँका परिवार छ महिना छेन्तुङ र बाँकी छ महिना दोगाडी, मोराङ, छालहाल्ना, बोबाङ ९औँलो०लगायतका गाउँमा बस्ने गर्थे । तर केही तीन वर्ष पहिले मोटरबाटोले गाउँ छोएपछि भने यहाँका मानिस नौ महिना छेन्तुङमा बस्न थालेका छन् । 
 
बर्खायाममा छेन्तुङ  र हिउँदमा बेसी झर्ने स्थानीयको परम्परा जस्तै हो । बर्खामा पशुचौपायाका लागि प्रशस्त चरन क्षेत्र भएको हुँदा छेन्तुङ आउने गर्छन् भने हिउँदमा हिमपात हुने हुँदा चिसोका कारण बेसी झर्ने गर्छ । छेन्तुङमा बस्दा किसान आलु, सिमी र स्याउ खेतिमा व्यस्त हुन्छन् । 
 
अन्धकारमै नौ महिना बिताउने स्थानीयले बेसी झरेपछि मात्रै विजुली बाल्न पाउँछन् । मोटरेबल बाटोले गाउँलेलाई विकासको थोरै भए पनि अनुभूति गराएको भए पनि विद्युतको भने अभाव कायमै छ । गाउँमा सक्नेले सोलार प्रयोग गर्दै आए पनि अधिकांशले दाउरा र टुकीको भरमा रात कटाउँछन् । सोमबार गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छेन्तुङमै पुगेर सोलार वितरण गरेपछि स्थानीयमा बत्ति बाल्न पाइनेमा खुसी छाएको छ । 
 
मन्त्री सरस्वती अर्याल तिवारी, बागलुङ क्षेत्र नम्बर–२ (खं) का सांसद दोर्णकुमार कुँवर, प्रदेशसभा सदस्य दिलमाया पौवी लगायतको टोली छेन्तुङमै पुगेर सोलार वितरण गरेको हो । सडकले गाउँ जोडिएपछि राहत मिलेको र अब गाउँ उज्यालो हुने भन्दै स्थानीय ५९ वर्षीय छबिलाल सिर्पालीले खुसी व्यक्त गर्नुभयो ।
 
ढोरपाटन नगरपालिका–६ ओखरेनीका सिर्पालीले बेसी झर्दा मात्रै बिजुली बत्ति बाल्न पाएको भन्दै छेन्तुङमा बस्दा समस्या भोग्नुपरेको बताउनुभयो । आफू छेन्तुङमै जन्मे, हुर्केको र यही बस्दै आएको भन्दै अहिलेसम्म पनि कसैले गाउँमा बत्तिको व्यवस्थापन नगरेको उहाँको भनाइ छ । 
 
“सरकारले हाम्रो समस्या बुझिदियो, धेरै खुसी भएका छौँ, बेसी झर्दा त बिजुली बत्ति बाल्न पाइन्थ्यो, यहाँ आयो भने उही अँध्यारोमै बस्ने हो, वरिपरी यति ठूलो वन छ, वनबाट दाउरा, दियालो ल्याउन पनि सिकार आरक्षले दिँदैन” सिर्पालीले भन्नुभयो । 
 
स्थानीय ६४ वर्षीया मैया भण्डारीले दिनभरी जङ्गलमा गएर बाँङ, दियालो, सल्लाको खोटो जम्मा गर्ने र रातिमा त्यही बालेर उज्यालो गराउने गरेको बताउनुभयो । सरकारले सोलार दिने भएपछि केही दिनदेखि गाउँमा प्राविधिक आएर छाना सोलार प्यानल राखी बत्ती जडान गरिदिएको उहाँको भनाइ छ । गाउँमा कक्षा तीनसम्म पढाइ हुने विद्यालय रहेको र विद्युत् नहुँदा विद्यार्थीले रातको समयमा पढ्न नपाएको भण्डारीले बताउनुभयो ।
 
“बर्खाको तीन/चार महिनाका लागि पहिल्यै दाउरा, दियालो जोहो गरेर राख्नुपथ्र्यो, बर्खा अगाडिनै जोहो गरिएन भने खाना पकाउने दाउरा पनि हुँदैनथ्यो, भण्डारीले भन्नुभयो, “केटाकेटी पनि नपढी सुत्थे, अब त रातिसम्म पढ्न पाउलान्, हामीलाई पनि खोटो, दियालो खोज्न दिन भरी लाग्ने छैन ।”
 
यस क्षेत्रबाट निर्वाचित सांसद दोर्णकुमार कुँवरले ढोरपाटन क्षेत्रका सयौँ परिवारले टुकीकै भरमा रात कटाउने गरेको भन्दै विद्युतीकरण नहुँदासम्मका लागि सोलार बत्तीको व्यवस्थान गरेको बताउनुभयो । पहिलो चरणमा छेन्तुङका तीन सय ९१ घरमा सोलार जडान गरिएको भन्दै अब अन्य गाउँमा पनि निरन्तर व्यवस्थापन गर्दै जाने बताउनुभयो । लामो समयदेखि छेन्तुङगाउँ, निसेलढोरलगायत थुप्रै ठाउँमा सामान्य सौर्य ऊर्जासमेत नपुगेको र आगामी वर्षसम्म सबै ठाउँमा पु¥याउने गरी प्रदेशमा पहल भइरहेको सांसद कुँवर बताउनुहुन्छ ।
 
गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले उज्यालो गण्डकी प्रदेश अभियान अन्तर्गत छेन्तुङ गाउँमा सोलार वितरण गरेको बताउनुभयो । आगामी वर्षसम्म उज्यालो गण्डकी प्रदेश घोषणा गर्नेगरी प्रदेशका ११ वटै जिल्लामा विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जाको व्यवस्थान गर्न थालेको उहाँको भनाइ छ । 
 
उहाँले प्रदेशमा दुई चार ८६ घरमा अहिलेसम्म विद्युत् नपुगेको बताउनुभयो । यसै वर्ष सबै घरमा सौर्य ऊर्जा पुर्‍याउने गरी काम भइरहेको मन्त्री तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago