प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन तत्काललाई विद्युत् आपूर्ति नरोक्नु

  • प्रकाशित मिति : सोम, भदौ २५, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेपाल विद्युत प्राधिकरणलाई उद्योगमा आपुर्ति भइरहेको विद्युत नरोक्नु निर्देशन दिनुभएको छ । 
 
प्रधानमन्त्री  ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न प्राधिकरणलाई निर्देशन दिनुभएको हो । 
 
प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न र बक्यौता महशुल चुक्ता नगर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने भन्दै भदौ १७ गते सूचना जारी गरेपछि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारी सहित प्रधानमन्त्री  ‘प्रचण्ड’लाई भेट गर्न आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेको पुगेको थियो ।
 
भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिनुभएको हो । 
 
उहाँले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्‍याउने कुरामा आफूले पहल गर्ने समेत आश्वासन दिनुभयो । 
 
महासङ्घले अहिलेको आर्थिक सङ्कटको समयमा उद्योग व्यवसायहरु ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव दिएको छ ।  कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर सङ्कटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासङ्घको भनाइ छ ।

प्रतिक्रिया