मुगु पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

  • प्रकाशित मिति : सोम, भदौ २५, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, २५ भदौ ।  कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगडीसम्म विद्युत् पुयाएको हो ।
 
प्राधिकरणले आइतबारदेखि गमगडीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरुआत गरेको छ  । प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ ।
 
अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पु¥याउन ठेक्का सम्झौता सम्पन्न भई ‘सर्वे’ भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समय बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने जानकारी दिनुभयो । 
 
उहाँले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रुपमा अगाडि बढाइने बताउनुभयो ।  हाल मुगुमा प्राधिकरणका तीन हजार पाँच सय घरधुरी ग्राहक छन् । गत वर्षको असोजमा आएकोे भारी वर्षाका कारण गमगाड साना जलविद्युत्गृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै ‘डिजेल जेनेरेटर’ जडान गरी विद्युत् आपूर्ति दिएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत्गृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पु¥याएको थियो ।
 
यसैगरी, बाढीपहिरोबाट  विद्युतगृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको थियो । बाढीपहिरोले क्षति पुयाएको नहरको पुनःर्निर्माण र मर्मत जलविद्युत्गृह सञ्चालनमा ल्याइएको थियो । मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सवस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो । 

प्रतिक्रिया