नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन

  • प्रकाशित मिति : मंगल, भदौ १९, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, १९ भदौ । भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिनुभएको छ । दुई देशबीच गत जेठमा यस विषयमा सहमति भएको थियो ।
 
सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभएको हो । उक्त निर्णयले नेपालको आर्थिक विकास र पुनःसंरचनामा महत्वपूर्ण योगदान पु¥याउनेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा दुई देशबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल र भारतका ऊर्जा सचिवले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । भारत सरकारको उक्त निर्णयपछि छिट्टै दुवै देशका ऊर्जा सचिवले एक विशेष समारोह आयोजना गरी पुनः संयुक्त हस्ताक्षर गर्नुहुनेछ । 
 
प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय भेटवार्तापछि आयोजित दुई संयुक्त पत्रकार सम्मेलनमा समेत सो विषयमा जानकारी दिनुभएको थियो । प्रधानमन्त्री दाहालले सो समझदारीलाई ऐतिहासिक भन्दै टिप्पणी गर्नुभएको थियो ।
 
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालले पनि १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली लैजानेसम्बन्धी विषयलाई भारत सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी आएको बताउनुभयो । “औपचारिक रुपमा जानकारी आउँदै होला, अनौपचारिक रुपमा निर्णय भएको जानकारी आएको छ” उहाँले भन्नुभयो ।  
 
सो निर्णय लगत्तै नेपालको बिजुली भारतीय बजारमा सहज रुपमा लैजान बाटो खुलेको छ । नेपालले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा भारतीय बजारमा बिजुली निर्यातका लागि आग्रह गर्दै आएको थियो । 
 
हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक रुपमा भारतीय इनर्जी एक्सचेञ्ज मार्केटमा चार सय ५२ मेगावाट बिजुली निर्यात गर्दै आएको छ । प्राधिकरणले थप बिजुली निर्यातका लागि आग्रह गरेको भए पनि त्यसको स्वीकृत भने नआएको सरकारी अधिकारीको भनाइ छ ।
 
सन् २०१४ मा नै नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको थियो । भारतीय कम्पनी सतलज विद्युत् निगमले नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै, भारतीय कम्पनी गान्धी माल्लिकार्जुन राव ९जिएमआर०ले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने बताए पनि हालसम्म सुरु हुनसकेको छैन ।
 
त्यस्तै, भारतीय कम्पनी तल्लो अरुण, पश्चिम सेती, एसआर– सिक्स जस्ता आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यस्तै, नेपाल र भारतका कम्पनीबीच संयुक्त उपक्रम तयार पारेर केही आयोजना निर्माण गर्ने समझदारी भएको छ ।
 
यसैगरी, नेपालले छिट्टै बङ्गलादेशमा पनि ४० मेगावाट बिजुली निर्यातको तयारी गरेको छ । यसबाट नेपालको बिजुली क्षेत्रीय बजारमा सहजै पुग्ने वातावरण बनेको छ । निजी क्षेत्रले पनि बिजुली व्यापारको अनुमति दिन सरकारसँग माग गर्दै आएको छ । प्रस्तावित नयाँ विद्युत् विधेयकमा सो व्यवस्था गरिएको छ ।
 
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले छिट्टै निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिने बताउँदै आउनुभएको छ । मन्त्रिपरिषद्को यही भदौ १२ गतेको मन्त्रिपरिषद्को बैठकले विद्युत् विधेयकलाई सङ्घीय संसद्मा प्रस्तुत गर्न ऊर्जा मन्त्रालयलाई अनुमति दिएको छ । सो विधेयकमा निजी क्षेत्रलाई बिजुली व्यापारका लागि अनुमति दिने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया