ऊर्जा क्षेत्रमा भएको लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : गृहमन्त्री श्रेष्ठ

  • प्रकाशित मिति : मंगल, भदौ १२, २०८०
  • - विद्युत संसार
title

काठमाडौं, १२ भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको लगानीको सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । 
 
सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा मन्त्री श्रेष्ठले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह र तप्काका नागरिकको सुरक्षा गर्ने भन्दै उहाँले ऊर्जा क्षेत्रमा भएको १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताउनुभएको हो । इप्पानले सुशासनको अभियान सुरु गरेकोमा उहाँले धन्यावद समेत दिनुभयो ।
 
छलफलका क्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको भन्दै परियोजना स्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गर्नुभयो । साथै उहाँले बिस्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजिकरण गरिदिन आग्रह गर्नुभएको थियो ।
 
यस्तै सोमबार नै इप्पान र बीमा प्राधिकरणबीच पनि भेटवार्ता भएको छ । उक्त भेटमा बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले इप्पानका सुझाव समेटेर बीमाका नीति, नियम र निर्देशिकाहरु जारी गर्ने बताउनुभयो ।
 
पछिल्लो समय बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको लागि जारी गरिएको न्युनतम प्रिमियम सम्बन्धी निर्देशिका २०७८ जारी गर्दै एकतर्फी रुपमा ६०० गुणासम्म प्रिमियम बढाएपछि इप्पानले उक्त निर्देशिका खारेजीको माग गर्दै आएको छ । उक्त निर्देशिका पूर्णरुपमा कार्यान्वयन नहुँदै फेरि पनि प्रिमियम बढाउन खोजेपछि इप्पानले गत असार ७ गते बीमा प्राधिकरणलाई ध्यानाकर्षण पत्र लेखेर खबरदारी गरेको थियो ।

प्रतिक्रिया