गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन

  • प्रकाशित मिति : बुध, साउन ३१, २०८०
  • - विद्युत संसार
title

टीकापुर, ३१ साउन । कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला रु सहजै अनुमान गर्न सकिन्छ । 
 
कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताउनुभयो । 
 
“राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन”, उहाँले भन्नुभयो, “१६ दिन वित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।”
 
बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृवृद्धालाई भएको छ । “मेरा साना दुई बच्चा छन् । रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्”, स्थानीय समिरा चौधरीले भन्नुभयो, “गर्मीले घरमा बस्न सक्ने अवस्था छैन । साह्रै दुःख भयो ।”
 
जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दैआएका थिए ।  स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ । लामो समयसम्म गाउँमा विद्युत् नहुँदा आफूहरु उज्यालाका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताउनुभयो । 
 
लामो समयदेखि विद्युत् नभएपछि स्थानीयका घरमा रहेका मेशिनरी सामानसमेत बिग्रन थालेका छन् । ट्रान्समिटर पड्किँदा रु तीन लाख ५० हजार मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताउनुभयो । 
 
“हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ ।”

प्रतिक्रिया