भर्खरै

घरेलु र साना उद्योग बचाउने सरकारको दायित्व हो : मन्त्री महर्जन

  • प्रकाशित मिति : सोम, साउन २२, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, २२ साउन । बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले लघु, घरेलु तथा साना उद्योगलाई बचाउने प्रमुख दायित्व सरकारको भएको बताउनुभएको छ । 
 
घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँको रजत जयन्तीको अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्री महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला साना तथा मझौला उद्योग प्रवद्र्धनको जिम्मा सरकारको रहेको भन्दै यस्ता उद्योगलाई बचाएर मात्रै जनताको आयस्तर उकास्न सकिने धारणा राख्नुभयो ।
 
साना उद्योगलाई दिगो बनाउने विषय प्रदेश सरकारको प्राथमिकता रहेको भन्दै उहाँले बागमती प्रदेशका लघु, घरेलु तथा साना उद्योेगको प्रवद्र्धनमा प्रदेश सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष श्याम गिरीले सङ्घीयता कार्यान्वयनपछि अहिले उद्योग सञ्चालनको वातावरण राम्रो हुनुपर्ने भए पनि तीन तहको सरकारमा अलमल भएको बताउनुभयो । 
 
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लघु, घरेलु तथा साना उद्योेगका विषय नसमेटिएको भन्दै उहाँले बैंकको दबाबले गर्दा उद्योगी आफ्नो व्यवसाय छाड्ने अवस्थामा पुगेको बताउनुभयो ।
 
महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकहरुले मन्दीलाई देखाएर लघु, घरेलु तथा साना उद्योेगमा लगानी गर्न छाडेको र सहुलियतपूर्ण कर्जा पनि हटाउँदा जटिल अवस्था सिर्जना भएको भनाइ राख्नुभयो । 
 
घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँका अध्यक्ष पदमकुमारी कार्कीले ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने नारालाई महासङ्घका जिल्ला र पालिकास्तरबाट अभियानकैरुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । देशकै अर्थतन्त्रको जगका रुपमा रहेका साना उद्योगका लागि सरकारले विभिन्न खालका प्याकेज ल्याए पनि व्यवसायीले त्यसको उपभोग गर्न नसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया