भर्खरै

सुन प्रकरणले झस्किएका जनता

  • प्रकाशित मिति : बुध, साउन १७, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, १७ साउन । गएको केही हप्ता त्रिभुवन विमानस्थलबाट एकैपटक करिब एक सय किलो सुन भन्सार कार्यालयबाट बाहिरिएपछि सुन प्रकरणले साना चिया पसल देखि प्रतिनिधिसभा बैठक सम्म चर्चापरिचर्चा भइरहेका छन् । जुन स्वभाविक पनि हो । अझ कुनै समय यात्रा गर्दा त्रिभुवन विमानस्थल प्रयोग गर्ने सर्वसाधारणलाई त झन अचम्मित तुल्याएको छ । किनकी आफू यात्राको क्रममा पाइला पाइलामा प्रहरी, भन्सार विभागका प्रतिनिधि, सीआइबी, विमानस्थल सुरक्षाकर्मि र ति जाँचपासका विभिन्न तरिका देख्दा १०० किलो त के लुकिछिपी एउटा साधारण मोबाइल समेत ल्याउन गाह्रो छ । तर कसरी भन्सार पास भएर बाहिरियो एक सय किलो सुन । आमसर्वसाधारणको प्रश्न छ ।   
 
सोही प्रकरणमा आइतबारसम्म १८ जना तस्करको समूहलाई विभागको टोलीले पक्राउ गरिसकेको छ । भन्सारमा रहेको अत्याधुनिक मेसिनले एक सय किलो सुन नदेखेको भन्दै यतिबेला चर्को आलोचना भइरहेको छ । खाडी मुलुकमा काम गरेर फर्किएका मजदुरले ल्याएको दुई थान मोबाइल, एक थान टिभी देख्ने भन्सारले एक क्वीन्टल सुनचाहिँ किन देखेन त ? के मजदुरको मोबाइल देख्ने भन्सारले सुन नदेखेकै हो कि सेटिङमै पास गराइएको हो ? यतिबेला सामाजिक सञ्जालमा आक्रोश छ ।
 
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । यसमा सत्तापक्ष तयार नहुदाँ प्रतिनिधि बैठकलाई समेत असर पुर्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । त्यसो त सत्तापक्ष भित्रपनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतको राजीनामाको माग गर्दै आएका छन् । अझ यस घटनामा राजनीतिमा होमिएका र पूर्वमन्त्रीहरुकै नाम जोडिएकाले आझ जनतामा चासो बढेको छ भने कयौं प्रश्नहरू गर्नेगरेका छन् । कतै राजनीतिक आडमा सुन तस्करी भएको त होइन ? सुन तस्करीको जालोमा किन मूल मालिक पत्ता लाग्दैन ? किन जहिल्यै पनि भरिया मात्र पर्छन् पक्राउ ?  राज्य संयन्त्रको मिलेमतो नभई यत्रो सुन तस्करी हुन सक्छ ? यी सबै प्रश्नहरूको उत्तर खोज्न अपरिहार्य छ । यसैले पनि अघिल्ला घटनाहरूमा जस्तो भरिया पक्राउ पर्ने तर त्यसको मालिक उम्कने जस्ता प्रवृतिले नेपाली जनता निरास छन् । यो पटक पनि सरकारले जनतालाई निरास बनाउनु हुदैन् यथाशीघ्र आवश्यक छानबिनबाट सत्यसत्य बाहिर ल्याउनु पर्दछ । 

प्रतिक्रिया