ऊर्जासचिव घिमिरेद्वारा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निरीक्षण
- प्रकाशित मिति : आइत, साउन ७, २०८०
- - विद्युत संसार
कास्की, ६ साउन । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको टोलीले निरीक्षण गरेको छ । सचिव नेतृत्वको टोलीले शनिबार माछापुच्छ्रे गाउँपालिका–२ मा निर्माणाधीन २५ मेगावाट क्षमताको आयोजनाको स्थलगत अवलोकन गर्दै हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिएको हो ।
आयोजनामा सरकारी कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)को संस्थागत स्वपुँजी (इक्वेटी) लगानी रहेको छ । एचआइडिसीएलको अध्यक्ष ऊर्जा तथा जलस्रोत मन्त्रालयको सचिव रहने व्यवस्था छ । सचिव नेतृत्वको टोलीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीका सञ्चालक शम्भुप्रसाद मरासिनी, माधवप्रसाद कोइराला, जीतेन्द्र धिताल, सुधिर ज्ञवाली, एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, डेपुटी सिइओ अरुण रजौरिया र जीवनकुमार बस्नेत सहभागी हुनुहुन्थ्यो ।
टोलीले आयोजनाको हालसम्मको भौतिक प्रगतिको अवस्था, हेडवर्क, विद्युत्गृह तथा पाइप लाइन विस्तारका बारेमा जानकारी लिएको थियो । टोलीलाई आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।
ऊर्जासचिव घिमिरेले आयोजनाको स्थलगत अवलोकनपछि आफूहरूले सही ठाउँमा लगानी गरेछौँ भनेर ढुक्क भएर फकिर्ने अवस्था रहेको बताउनुभयो । आयोजना सम्पन्न हुने चरणमा पुगेकामा उहाँले खुसी व्यक्त गर्नुभयो । देशको ऊर्जा क्षेत्रको विकासमा निजी ऊर्जा उत्पादकहरूको ठूलो भूमिका रहेको भन्दै सचिव घिमिरेले अझ ठूला परियोजनामा लगानी बढाउन उहाँले आह्वान गर्नुभयो ।
भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष जगत्बहादुर पोखरेलले आयोजना सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन ९प्रसारण लाइन० निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । कम्पनीका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरूपमा विद्युत् उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाटै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताउनुभयो ।
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट पावरहाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।
सेती जलविद्युत् आयोजनामा रु पाँच अर्ब लगानी रहेको छ । यसमा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिने आयोजना प्रमुख इन्जिनियर लेखनाथ पाण्डेले बताउनुभयो ।