बैतडीको बस दुर्घटनाः घाइतेमध्ये १६ उपचाररत, तीनलाई भारत पठाइयो (अपडेट)

  • प्रकाशित मिति : बुध, असार २७, २०८०
  • - विद्युत संसार
title

बैतडी, २७ असार । बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन् । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ ।
 
दुर्घटनामा गम्भिर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका–१ का ५५ वर्षीय मन्दिर सिंह साउद र शिवनाथ गाउँपालिका–५ का विनोद दमाइँलाई भारतको बरेलीमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार १० जनाको धनगढीस्थित माया मेट्रो अस्पतलमा उपचार भइरहेको छ भने तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
 
शिवनाथ–५ का गोरख सिंह साउद, सोही स्थानका सङ्गीता रावत, मिना चन्द, कञ्चनपुरकी दिपीका भट्ट, मेलौली–३ का बिसन भट्ट, शिवनाथ–३ का भरत सिंह साउद, पाटन–१ का चन्द्रदेव पन्त, पञ्चेश्वर–७ कि पार्वती भण्डारी र उनका छोरा कृष भण्डारी, मेलौली–४ का अमित चन्दको उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो ।
 
त्यस्तै डडेल्धुरा अस्पतालमा पञ्चेश्वर–३ का कृष्णा शाही, सोही ठाउँका खडकबहादुर चन्द र सेतु चन्दको उपचार भइरहेको छ । दुर्घटनामा सामान्य घाइते भएकालाई घर पठाइएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।
 
पञ्चेश्वरबाट महेन्द्रनगर जादैँ लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको थियो । 
 
ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको बस रुखमा अड्किएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया