भर्खरै

एमालेको अवरोध पछि ऊर्जा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल हुन सकेन

  • प्रकाशित मिति : आइत, असार २४, २०८०
  • - विद्युत संसार
title

काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ । 
 
राष्ट्रियसभाको आज (आइतबार)को बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदले उठेर विरोध जनाएका थिए । एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद्मा अवरोध कायमै रहने बताउनुभयो । एमालेले सोही विषयलाई लिएर चार दिनदेखि संसद् अवरुद्ध गर्दै आएको छ । 
 
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर सदन अवरोध गरेर मात्रै समाधान नहुने भन्दै उहाँले आफ्नो विचार राखेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । संसद् अवरोध भएका सम्बन्धमा शीर्ष नेताहरु छलफल र संवादमा लाग्नुहुने विश्वास व्यक्त गर्दै उहाँले सदनलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो । 
 
आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी, गृह र रक्षा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलको कार्यसूची थियो । 
राष्ट्रियसभाको अर्को बैठक यही असार २५ गते सोमबार बिहान ११ः०१ बजे बस्नेछ । 

प्रतिक्रिया