भर्खरै

गण्डकी गाउँपालिकाले ६१ करोड ७२ लाख अनुमानित बजेट सार्वजनिक

  • प्रकाशित मिति : सोम, असार ११, २०८०
  • - विद्युत संसार संवाददाता
title

गोरखा, ११ असार । गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१का लागि ६१ करोड ७२ लाख रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत भएको छ । आइतबार १३ औँ गाउँसभामा पालिका उपप्रमुख ललिता अधिकारीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । 
 
भौतिक निर्माणतर्फ वडा गौरवको आयोजना यस वर्ष पनि निरन्तरता दिन प्रत्येक वडामा ५० हजारका दारले रु ४ करोड विनियोजन गरिएको छ । त्यस्तै गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि रु दुई करोड बिनियोजन गरिएको छ । 
 
गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको फिस्लिङ आग्रीडाँडा भम्लिचोक भैरवी सडकलाई समपूरक कोष अन्तर्गत कार्यान्वयन हुने गरी रु एक करोड २५ लाख विनियोजन भएको छ । त्यस्तै गाउँपालिका कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत उत्पादनका आधारित अनुदान कार्यक्रमका लागि ५० लाख छुट्याइएको छ ।
 
प्राकृतिक विपदबाट पीडित व्यक्तिलाई उद्धार तथा अल्पकालिक राहत उपलब्ध गराउन रु १५ लाख विनियोजन गरिएको छ । 
 
गाउँ पालिकाले बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा संघ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिनुभएको छ ।
 
अध्यक्ष तिमल्सिनाले आगामी आर्थिक वर्षको बजेट मुख्य गरी कृषि र स्वास्थ्यमा केन्द्रित गरेर बजेट ल्याइएको बताउनुभयो । 

प्रतिक्रिया