भर्खरै

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

  • प्रकाशित मिति : मंगल, असार ५, २०८०
  • - विद्युत संसार
title

फुङ्लिङ, ५ वैशाख । ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन् । 
 
मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत् आयोजना आइतबार राति गएको बाढीले बगाउँदा पूरै गाउँपालिका अन्धकार भएको हो । बाढीले वडा नं ३ र ४ मा रहेका लघु जलविद्युत् आयोजनामध्ये केहीको पावर हाउस नै बगाएको छ भने केहीको पानी ट्याङ्की र केहीको पूरै संरचना बगाएर लगेको छ । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ६० प्रतिशत घरपरिवारमा विद्युत् जडान भएको थियो तर बाढीेले पाँच वटा लघु जलविद्युत् गृह नै बगाएपछि गाउँपालिकामा बसोबास गर्ने समुदाय अन्धकारमा बस्न बाध्य भएका छन् । वडा –४ मा रहेको १८ किलोवाटको लोदम्बा हाइड्रो पहिरोले बगाएको छ । त्यस्तै ३६ किलोवाटको याम्फेवा हाइड्रो पावर हाउसमा क्षति पुगेको छ भने ३२ र ६४ किलोवाटको माङमाया–१ र मङमाया–२ को माइक्रो हाइड्रोमा पनि पूर्णरूपमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष वनेमले बताउनुभयो । 
 
त्यही क्षेत्रमा रहेको १५ किलोवाटको ठाडेखोला लघु जलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ । अहिले गाउँमा मोबाइल तथा विद्युतीय सामग्री पूरै बन्द भएका छन् । दिउँसो घाम लाग्दा मात्र मोबाइलमा नेटवर्क आउने बेलुका भएपछि नेटर्वसमेत नआउँदा सञ्चारसम्पर्कमा मासमेत समस्या भएको उहाँको भनाइ थियो । अध्यक्ष वनेमले भन्नुभयो,“गाउँपालिकामा सञ्चलनमा रहेको पाँच वटा लघु जलविद्युत् पहिरोले बगाएपछि अहिले गाउँपालिका अन्धकार भएको छ । कार्यालयमा विद्युत् नभएकाले सेवा प्रवाह गर्नसमेत कठिन भएको छ ।”
 
त्यस्तै सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनमा दुईवटा लघु जलविद्युत् बाढीले बगाएको छ । तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको विद्युत् गृह बाढीले पूरै बगाएको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताउनुभयो । 
 
उहाँका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको लघुविद्युत्  गृहमासमेत क्षति गरेकाले अहिले गाउँ पूरै अन्धकार भएको छ । उक्त वडालाई याम्फुदीन नामले चिनिन्छ । त्यस गाउँमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन् ।
 दुई विद्युत् गृहले याम्फुदीनलाई उज्यालो दिँदै आएको थियो । गत शुक्रबार दुईवटा विद्युत् गृह नै बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदीन प्रहरी चौकीका हबल्दार विनोद उरावले बताउनुभयो । विद्युत गृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयवासीको भनाइ थियो । 
 
विद्युत गृह बाढीले बगाएपछि विद्युत् पावर आपूर्ति नहुँदा याम्फुदीनमा रहेको नेपाल टेलिकमको मोबाइल टावरसमेत बन्द हुने अवस्थामा पुकेको त्यहाँका वडाध्यक्ष गुरुङले बताउनुभयो । 

प्रतिक्रिया