वन डढेलो र आगलागी हुनबाट रोकौं ।
- प्रकाशित मिति : बुध, जेठ ३, २०८०
- - राम प्रसाद पौडेल
काठमाडौं ३, जेष्ठ । नेपालमा गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेको छ । आगलागी कै कारण मानवीय क्षतिसँगै ठूलो मात्रामा धनजनको क्षति भइरहेको छ । प्रतिकूल मौसम जस्ता प्राकृतिक कारण हिउँद र सुक्खा याममा आगलागीको जोखिम बढी हुन्छ । आगलागी विभिन्न तरिकाले हुन्छ प्रमुखतः धेरै आगलागीका घटनाहरु मानवीय लापर्वाहीका कारण हुने गरेको छ भने चट्याङ्ग, हुरिबतास आदिका कारणले पनि आगलागी हुन सक्छ ।
हरेक वर्ष डढेलोका समाचार आउँनेक्रम बढ्दो छ । कतै–कतै समुदायमा अझै पनि वनपाखामा डढेलो लगाउने चलन छ । तारन्तार लाग्ने डढेलोले डढेलो लाग्दै गर्दामात्र प्रभाव पार्दैन यसको दीर्घकालीन प्रभाव हुन्छन् । आगलागी कै कारण मानवीय क्षतिसँगै ठूलो मात्रमा धनजनको क्षति भइरहेको छ नै डढेलोले वन विनाससँगै वनमा भएका पशुपन्छी चराचुरुङ्गीको पनि मृत्यु हुन्छ । डढेलो भएको जमिनमा भूक्षय बढ्छ । जलाधारको जलस्रोतको सन्तुलन बिग्रन्छ, पानी मूहान मासिन्छन् । वनपैदावार डढेर निस्कने धुँवा र कार्बन ग्यासबाट जलवायु र समस्त पर्यावरणमा क्षति हुन्छ ।
आगलागीबाट धनजनको क्षतिमात्र हेर्नु अत्यान्त गलत हो । आगलागीबाट प्रत्यक्ष भन्दा अप्रत्यक्ष रुपमा ठूलो नोक्सान मानिसले भोग्ने गरेको छ । उदाहरण स्वरुप अघिल्लो महिनामात्र काठमाडौं विश्वकै प्रदुषित शहरको रुपमा धेरै समाचार आयो । यस्तो हुनुमा आगलागी प्रमुख कारणको रुपमा लिन सकिन्छ । तैपनि वन डढेलोेबाट हुने व्यापक क्षतिबारे सरोकारवालाले यथेष्ट चासो दिएको पाइँदैन। डढेलोले गर्ने हानी नोक्सानीका बारेमा सचेतना पनि कमी छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याड्ढ अनुसार यही बैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् । एक महिनामा आगलागी र वन डढेलोका ६ सय २१ घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको छ ।
अर्कोतिर वर्षेनी आगलागीले वन विनास हुँदै छ, प्रदूषण बढ्दै छ । डढेलो नियन्त्रणका लागि राष्ट्रिय प्रयास गरिनुपर्छ । जोखिम कम गर्ने साथै आगो निभाउने प्रविधि र उपायहरू अपनाउन अग्रसर हुनुपर्छ । आगलागीको जोखिम कम गर्न सरकारी, निजी क्षेत्र तथा समुदायले अनवरत प्रयत्न गर्नु आवश्यक छ । राज्यले कानूनमा भएका व्यवस्थाको उचित कार्यान्वयन, अग्नि नियन्त्रण प्रविधिको उपलब्धता र जोखिमको हिस्सेदारी गर्न बिमा जस्ता उपाय अपनाउनुपर्छ । चेतना अभावका कारण आगोले वर्षेनी सयौं मानिसको ज्यान लिइरहेको छ । जोखिमको ख्याल नगर्दा आगोले ज्यान लिन सक्छ ।
आगो तथा डढेलो लागेको देख्ने बित्तिकै पूर्व तयारीविना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिममा पर्ने भएकाले आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपाय अपनाउनु पर्दछ । जङ्गलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिने भएकाले सोको प्रयोग गर्न सकिन्छ । सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठुटा जथाभावी नफाल्न, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिनु पर्दछ ।
आगो निभाउने प्रविधि र जनशक्ति नहुँदा समयमै आगो निभाउन सकिएको छैन । नजिकै पानीको जोहो गरेर, समुदायमा आगो नियन्त्रण तालिम दिएर पूर्वतयारी गर्नु राम्रो हुन्छ । परम्परागत बस्तीमा जोखिम कम गर्न उनीहरूले केही उपाय अपनाएका हुन सक्छन् । जस्तै– चुलोको डिजाइन, अगेनोको बनावट, आगो बाल्ने र निभाउने प्रचलन आदि । त्यस्ता स्थानीय उपायलाई ध्यान दिएर आगो लागिहाले निभाउने उपायको पूर्वतयारी गर्नु जरुरी छ ।